धादिङ असोज १०-
पुर्ननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख अनुदान रकम दिने निर्णय गरेको छ। योसँग भूकम्प प्रभावितलाई दिने अनुदान अब तीन लाख पुगेको छ। सोमबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय गरेको पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए।
सरकारको यो निर्णयसँगै भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा एक लाख पाउनेछन्। यसबाहेक सरकारले विना व्याज तीनलाख ऋण दिने निर्णय गरिसकेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि दोस्रो पटक बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई दिने अनुदान बढाउने निर्णय गरेको हो।
यसअघि नै सरकारले भूकम्प प्रभावितलाई दुई लाख रकम दिने निर्णय गरिसकेको छ। प्रधानमन्त्री अध्यक्ष रहने निर्देशक समितिको बैठकले यसअघि निर्णय भइसकेको दुई लाख रुपैयाँ अनुदान वितरण गरेपछि अनुदान वितरण कार्यविधि परिवर्तन गरी थप एक लाख अनुदान दिने निर्णय गरेको हो।