नेपाल सरकारले संघियता लागु गर्ने निर्णय गरे सँगै बिभिन्न गाबिसहरुलाई मर्ज गरि गाउँपालिका र नगरपालिका बनाउने क्रममा धादिङ जिल्लामा पनि यो नियम लागु भयो । बिभिन्न गाबिसहरुलाई एकअर्कामा गाभ्ने क्रममा स्थानिय (गाबिस)हरुबाट सो क्षेत्रका राजनैतिक दल तथा नागरिक अगुवाहरुबाट जिल्ला बिकास समितीलाई आफ्नो प्रतिवेदन बुझाउने काम समेत भयो ।
यसरी प्रतिवेदन बुझाउने क्रममा ज्यामरुङ गाउँ बिकास समितीलाई बिभिन्न राजनैतिक दल, बुद्धिजीवि तथा नागरिक अगुवाहरुले ज्यामरुङ गाविस नीलकण्ठ नगरपालिकामा समावेश रहेका साँकोष र मुरली भञ्ज्याङ गाविसका घरधुरीहरुबीच पानीपँधेरो, मेलापर्म जस्ता सम्बन्धहरु रहेको र भौगोलिक रुपमा पनि ज्यामरुङ गाविसलाई नीलकण्ठ नगरपालिकामा गाँभ्नु उचित हुने प्रस्ताव पेश गरेको थियो । तर विडम्बना जिविसमा बसेको राजनैतिक दलका जिल्लास्तरीय नेताहरु समेतको बैठकले ज्याम्रुङका जनताको प्रस्ताबमाथि कुठाराघात गर्दै स्थानीय जनताले ल्याएको प्रस्ताव रद्धीको टोकरीमा मिल्काउने काम गरे ।
कसैले पनि कल्पना नगरेको विषय ज्यामरुङ गाविसलाई चैनपुर, मैदी सहितको ज्वालामुखी गाउँपालिकामा गाँभ्ने प्रस्तावलाई स्वीकृत गर्न पुगे जवकि उक्त गाउँ पालिकको कार्यालय जानको लागि नीलकण्ठ नगरपालिकको भुमि भएर जानुपर्ने हुन्छ । यसरी ज्यामरुङका जनताको भावना र भौगोलिक सुगमतालाई नजर अन्दाज गर्दै जनतालाई अपायक पर्ने र सुविधाबाट बन्चित गर्ने जिल्ला स्तरीय बिभिन्न राजनैतिक दलका नेताहरुको प्रस्तावको बिरोधमा ज्यामरुङका जनतालाई उत्रन बाध्य पारिएको छ ।
गाउँघर तथा स्वदेशमा रहेका मात्र नभई विदेशमा रहेका ज्यामरुङे जनताहरु समेत आन्दोलित भइरहेको छ । ज्यामरुङको अस्तित्व बचाउनको लागि र जनताको सुविधालाई केन्द्रमा राखेर देश भित्र र विशेष गरि जिल्लामा रहेका राजनैतिक दलका नेताहरु, बद्धिजीवि र नागरिक अगुवाहरुसँग ज्यामरुङको हक अधिकार संरक्षण र निर्णयमा पुर्नविचार गर्नको लागि दबाब स्वरुप म आफैले उनीहरुसँग छलफल गर्ने र उनीहरुको राय बुझ्ने काम गरेको थिए जुन यहाँ प्रस्तुत गर्न गइरहेको छु ।
माओवादी केन्द्र ज्यामरुङका अध्यक्ष शिवकुमार श्रेष्ठ र नेपाली काँग्रेस ज्यामरुङका अध्यक्ष रामबहाुदर श्रेष्ठको भनाईलाई आधार मान्ने हो भने उनीहरु ज्यामरुङलाई नीलकण्ठ नगरपालिकामा नै गाभ्नुपर्ने र त्यसको लागि जस्तो सुकै आन्दोलनको लागि पनि आफुहरु तयार भएको बताउनुभयो ।
त्यसैगरी नेकपा (एमाले) ज्यामरुङका अध्यक्ष बिजयराज ईटनीले स्थानीय रुपमा हामीले ज्यामरुङलाई नीलकण्ठ नगरपालिकामा गाभ्नुपर्छ भन्ने प्रस्ताबमा हस्ताक्षर गरि सकेकोले अहिलेको परिवर्तित भौगोलिक बाँडफाडको विषयमा पार्टीसँग छलफल गरेर मात्र बताउन सकिने कुरा गर्नुभयो ।
ज्यामरुङ गाविसका युवा ब्यवसायी, समाजसेवी तथा माओवादी केन्द्रका जल्दो बल्दो युवा नेता ‘कमल सापकोटाले’ ज्यामरुङलाई कुनै पनि हालतमा ज्वालामुखी गाउँपालिकामा गाँभ्न नहुने र यसको लागि आफुले हदैसम्म लागिरहेको बताउनु भयो साथै हाल गरिएको सिमांकन कुनै पनि हालतमा स्विकार्य नहुने धारणा समेत राख्नु भयो ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनु भएका कृष्ण उप्रेतीको भनाई भने अलि फरक पाए जसमा अलि बढी नै राजनैतिक भावनाले तथा पुर्वाग्रहले काम गरेको समेत देखियो । उहाँको भनाई अनुसार नीलकण्ठ नगरपालिका भनेको यही १०-२० बिल्डिङ मात्र हो यो नगरपालिकामा कुनै भविष्य छैन र भोली केही प्रगति हुने अवस्था पनि छैन । चैनपुर तथा मैदीको भुभागमा बुढीगण्डकी जलविद्युत परियोजना निर्माण हुन लागेकोले पनि ज्यामरुङले ज्वालामुखी गाउँपालिकाबाट फाइदा लिन सक्ने र उतै गाभिदा सही हुने विश्लेषण सुनाउनुभयो ।तर ज्वालामुखी भन्दा भौगोलिक हिसाबले सल्यानटार नजिक र सुविधायुक्त पर्छ नि भन्ने मेरो प्रश्नको उत्तरमा भन्नुभयो कि सल्यान्टारतिर गाभ्दा नि नहुने त होइन तर सल्यानटारमा नै गाभ्नुपर्छ भनेर चाँही भन्नु हुदैन ।
कुमाई ज्यामरुङका नागरिक अगुवा तथा बुद्धिजीवि धर्मराज पाठकबाट पनि मैले उक्त विषयमा बुझ्ने प्रयास गर्दा ज्यामरुङलाई नीलकण्ठमा नै गाँभ्नुपर्ने यदि त्यो हुन सकेन भने पनि चरङ्गे फेदीसमेतको जनताकोसुविधालाई समेत ध्यानमा राखी सल्यान्टारमा राख्दा उत्तम हुने तर ज्वालामुखी गाउँपालिका कुनै पनि हालतमा उपयुक्त नहुने विचार राख्नुभयो ।
यसरी सम्पुर्ण ज्यामरुङवासी जनताको भावना, चाहना र प्रस्तावलाई लत्याउदै ज्यामरुङ गाविसका जनतालाई अपायक पर्ने गरि ज्वालामुखी गाउँपालिकामा गाभ्न स्वीकृती दिने विभिन्न राजनैतिक दलका जिल्ला स्तरीय नेताहरुसँग समेत आफ्नो असन्तुष्टी राख्ने र उनीहरुको राय बुझ्ने काम गरेको थियो । उनीहरु एकले दोष अर्को दललाई देखाएर ज्यामरुङवासी जनताको नजरमा लोकप्रिय बन्न खोजेको मात्र देखियो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शालिकराम जमरकटेलले ज्यामरुङवासी जनताको प्रस्ताव नीलकण्ठ नगरपालिकामा समावेश गर्ने भएपनि जिल्लास्तरमा कुनै पनि राजनैतिक दलले ज्यामरुङलाई नीलकण्ठमा राख्नुपर्ने प्रस्ताव नगरेको र जिल्ला विकास समितिले जनसंख्याको आधारमा तयार पारेको सिमांकनको आधारमा ज्वालामुखी गाउँपालिकामा जोडिएको बताउनुभयो । यसो गर्दा ज्यामरुङ वडा नं १ र २ का जनतालाई अति नै मर्का पर्ने भएकोले ज्यामरुङ टुक्राउने प्रस्ताव गर्दा कसैले पनि नस्विकारेको कारण माओवादी केन्द्रले हस्ताक्षर गर्न बाध्य भएको र अझै पनि ज्यामरुङका जनताले दवाव सिर्जनागर्ने हो, भने पुन सीमांकन गर्न सकिने धारणा राख्नुभएको थियो ।
नेकपा (एमाले) का नेता तथा धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटीसंग बुझ्ने क्रममा नेकपा (एमाले) बाहेक कुनै पनि पार्टीले ज्यामरुङलाई नीलकण्ठ नगरपालिकामा ल्याउने प्रस्ताब नगरेको र ज्यामरुङ गाविसलाई टुक्राउने विषयमा पनि कुनै पनि दलहरुले समर्थन नगरेकोले अन्तिममा ज्वालामुखी गाउँपालिकामा ज्यामरुङलाई समावेश गर्ने प्रस्तावमा हस्ताक्षर गर्नु परेको बताउनुभयो । उक्त प्रस्ताबमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रका नेता सालिकराम जंम्कटेलले हस्ताक्षर गरेको र नेपाली काँग्रेसले पनि उसैको पछिपछि सहमति जनाएकोले एमाले पनि हस्ताक्षर गर्न बाध्य भएको बताउनुभयो ।
नेकपा (एमाले) क्षेत्र नं १ का साँसद धन बहादुर घले क्षेत्र नं १ मा पर्ने धुँवाकोटलाई जबरजस्ती नीलकण्ठमा मिसाउने काम गरेको र ज्यामरुङलाई नीलकण्ठ नगरपालिकामा जोडनुपर्छ भन्दा नेपाली काँग्रेस बाधक बनेकोले नसकिएको जिकिर गर्नुभयो ।
त्यसैगरि नेपाली काँग्रेस धादिङ जिल्ला सभापति रमेश धमलाले कुनै पनि राजनैतिक दलले झुट र भ्रमको खेती गर्न नहुने बताउदै नेपाली काँग्रेसले ज्यामरुङलाई नीलकण्ठ नगरपालिका गाभ्नुपर्छ भनेर प्रस्ताब गरेको तर ज्यामरुङको पक्षमा बोल्ने र समर्थन गर्ने कोही नभएकोले सोच्दै नसोचेको हुन गएको र उक्त निर्णय परिवर्तन गर्नको लागि नेपाली काँग्रेस धादिङ संधै सहयोग गर्न तयार छ र गर्छ भन्न बिर्सनु भएन । नेपाली काँग्रेस धादिङ पुर्व सभापति रामनाथ अधिकारीको धारणा पनि रमेश धमालाको जस्तै थियो ।
ज्यामरुङका स्थानीय राजनैतिक दलका नेताहरु, नागरिक समाज तथा बुद्धिजीविहरुमा केही अपवादलाई छोड्ने हो भने ज्यामरुङ गाविसलाई नीलकण्ठ नगरपालिकामा समावेश गर्नुपर्छ भन्ने कुरामा कुनै दुईमत देखिदैन । तर जिल्ला स्तरीय राजनैतिक दलका नेतृत्वहरु आफ्नो पार्टी बाहेक अरु सवै ज्यामरुङवासी जनताको विरोधी भनेर देखाउन तँछाडमछाड गरिरहेका छन् । ज्यामरुङवासी जनताले गर्ने आन्दोलनमा आफुले साथ दिने बताइरहेका छन् तर वास्तविकताको लागि केही समय अझै पर्खिनुपर्ने देखिन्छ ।
ज्यामरुङका जनताहरुमाथि अवैज्ञानिक र अनैतिक ढंगले थुपारिएको यस निर्णयले आम जनताहरुको भावनामाथि ठुलो चोट लागेको छ । राजनैतिक फाइदा र हानीलाई केन्द्रमा राखेर, स्थानीय जनताको सुविधा र अनुकुलतालाई आँखा चिम्लिएर खेलिएको यस खेलका खल नायकहरुको पक्कै पनि चाडै नै पर्दाफास हुने नै छ । जसलाई ज्यामरुङवासी जनताले कदापी माफ गर्न सक्दैनन् । स्थानीय रुपमा, देश भरि छरिएर रहेका र रोजगारीका लागि विदेशमा रहेका ज्यामरुङवासी समेत आफ्नो अस्तित्व रक्षाको लागि संगठित र आन्दोलित भैसकेका छन् । आफुलाई जनताको सेवक ठान्ने राजनैतिक दलहरुले ज्यामरुङवासी जनताको भावनालाई बेलैमा सम्बोधन गर्न जरुरी छ ।
(लेखक गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालका अध्यक्ष तथा ज्यामरुङ–९ निवासी हुनुहुन्छ )
प्रकाशित मित ०७३ असोज १० गते