रेडियो धादिङको भवन भत्काएकोमा धादिङ पोखरा पत्रकार समाजद्धारा आपत्ति प्रकट

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८

2-1

शुक्रवार विहान जिल्ला बन कार्यालय धादिङले रेडियो धादिङ १०६ मेगाहर्जको भवन भत्काएपछि विभिन्न संघ संस्थाहरुद्धारा विरोध आउने कार्य जारी रहेको छ । अमरावति सामुदायिक बन मिचेर भवन बनाएको भन्दै ससस्त्र जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा उक्त भवन भक्ताइएको थियो । यसै क्रममा जिल्ला बन कार्यालयले रेडियो धादिङको भवन भत्काएको प्रति धादिङ पोखरा पत्रकार समाजले आपत्ति प्रकट गरेको छ ।
संस्थाका अध्यक्ष रञ्जन अधिकारीद्धारा जारी प्रेस विज्ञप्तिमा रेडियोको प्रसारण नै अवरुद्ध हुने गरि गरिएको अमानवीय व्यवहारप्रति धादिङ पोखरा पत्रकार समाजको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान–२०७३ मा गरिएको व्यवस्था सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंङ्घन गर्नेहरुले संचारमाध्यममाथि गरेको हमलालाई दुःखद घटनाको रुपमा लिई सार्वजनिक माफी मागी माग्न र घटनाको न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न तथा रेडियो प्रशारणको निम्ती उचित वातावरण बनाउन जोडदार माग गर्दछौं । विज्ञप्तिमा भनिएको छ ।

धादिङ पोखरा पत्रकार समाजद्धारा जारी प्रेस विज्ञप्ति

धादिङ पोखरा पत्रकार समाज
पोखरा, कास्की
नेपाल

प्रेस विज्ञप्ती

धादिङ जिल्ला सदरमुकाम धादिङवेशीबाट प्रसारण हुने सामुदायिक ‘रेडियो धादिङ १०६ मेगाहर्ज’को सबै उपकरण ध्वस्त बनाई प्रशारण अवरुद्ध गरेर रेडियोमा कार्यरत सञ्चारकर्मीहरु माथि गरिएको अमानविय कार्यप्रति धादिङ पोखरा पत्रकार समाजको गम्भिर ध्यानाकर्षण भएको छ ।

समुदायको सूचनाको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रेडियोमाथि बिहान ४ बजेको समयमा जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलको नेतृत्वमा रहेको सरकारी टोलीले डोजर चलाएर सञ्चारकर्मीमाथि पनि अभद्र व्यवहार प्रदर्शन गरेकोमा आपत्ति प्रकट गर्दछौं ।

रेडियो स्टेशनमा सुतिरहेका सञ्चारकर्मीहरु शंकर श्रेष्ठ, रोम श्रेष्ठ, खेम चेपाङ र सौगात लम्साललाई कपडा समेत लगाउन नदिई मोबाईल समेत खोसेर हातपात गरी त्रसित पारी अपशब्द प्रयोग गर्नु प्रेस स्वतन्त्रताको हनन मात्र नभई अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य हो र यो मुुलुकको लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भिर प्रहार हो ।

घटनाको बारेमा समाचार संकलन गर्न गएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नबराज छत्कुली, पत्रकारहरु सीताराम अधिकारी, अर्जुनकुमार श्रेष्ठ, सरिता श्रेष्ठ, दोलख गुरुङलाई प्रहरीले गेटमा नै हातपात भएकोमा आपत्ति प्रकट गर्दछौं ।

प्रक्रियासम्मत ढंगले सामुदायिक बनमा बनेको भवन सम्वन्धको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकार स्वयं मध्यरातमा आतंककारी शैलीमा उत्रिएर सामुदायिक सञ्चार माध्यमको प्रशारण बन्द गर्नु दण्डहिनताको पराकाष्ठा र नागरिकको सूचना पाउने अधिकारमाथिको गम्भिर हस्तक्षेप हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान–२०७३ मा गरिएको व्यवस्था सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंङ्घन गर्नेहरुले संचारमाध्यममाथि गरेको हमलालाई दुःखद घटनाको रुपमा लिई सार्वजनिक माफी मागी माग्न र घटनाको न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न तथा रेडियो प्रशारणको निम्ती उचित वातावरण बनाउन जोडदार माग गर्दछौं ।
रञ्जन अधिकारी
अध्यक्ष
धादिङ पोखरा पत्रकार समाज