वन अतिक्रमण गरी बनाइएको रेडियो धादिङ र सेफ हाउसको घर भत्काइयो

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ७, २०७३

धादिङबेसी असोज ७ । धादिङबेसीस्थित अमरावती सामुदायिक वन अतिक्रमण गरेर बनाईएको रेडियो धादिङ र सेफ हाउसको घर जिल्ला वन कार्यलय धादिङले भत्काएको छ ।

आज बिहान ४ बजे नै अमरावती सामुदायिक वन क्षेत्रमा ससस्त्र जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा उक्त भवन भक्ताइएको हो ।

जिल्लामा केही महिनादेखि सामुदायिक वन क्षेत्र खाली गराउने अभियानमा लागेको वन कार्यालय रेडियो धादिङको भवनमा आएर रोकिएको थियो । रेडियो धादिङको भवन रक्षार्थ सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबले बिज्ञप्ती निकालेको थियो ।

त्यसपछि अकोराव र अमार्कको कार्यालय नै पुगेका धादिङका डिएफओ इमनाथ पौडेलले रेडियो धादिङ सामुदायिक वन मै बनाउनु पर्ने कारण देखाउन आग्रह गरेका थिए ।

अकोराब प्रतिनीधिसँग कुरा गर्दै वन प्रमुख पौडेलले रेडियो अन्त कहि कतैबाट आएको अलौकिक शक्ति नभएको र रेडियोले पनि कानुन मान्नु पर्ने बताएका थिए । आफु वन क्षेत्रको रक्षाको लागि अघि बढिसकेकोले कानुन भन्दा बाहिर अकोराब नजाने आशा व्यक्त गदै अकोराबबाट बाहिरिएको बताएका थिए ।

सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्कले पनि लालपूर्जा अनिवार्य चाहिने प्रावधानविपरित सामुदायिक वनभित्र भवन बनाउन गैरकानुनी ढंगले अनुदान दिएका थिए । अमार्कका एसिया प्यासिफिक प्रमुख सुमन बस्नेतले गैरकानुनीरुपमा भवन बनाउन रेडियोलाई विदेशी दातामार्फत सहयोग गराएका थिए ।

धादिङबाट निर्वाचित एमालेका सांसदहरुले पनि वन अतिक्रमण गरी भवन बनाउन अवैधानिकरुपमा सहयोग गरेको भन्दै स्थानीय प्रशासनले दुःखेसो गर्दै आएको छ ।

स्थानीयहरुले वन अतिक्रमण गर्ने संस्थासँगै लालपूर्जाबिना वन अतिक्रमण गरेर घर बनाउन सघाउने अमार्क, सांसदहरु र जिविसमाथि पनि कारवाहीको माग गरेका छन् ।