मनासलु पदमार्गमा पहिरो चारको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ६, २०७३

धादिङ असोज ६

मनासलु पदमार्गको उहिया गाविसस्थित तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै दोभार भन्ने ठाउँमा पहिरो जाँदा एक विदेशी पर्यटकसहित चार जनाको मृत्यु भएको छ ।फिस्टेल एयरको हेलिकप्टरले ४ बिदेशीसहित दुई नेपालीलाई उद्धार गरेको हो । गम्भिर घाईते हुनेहरुमा तीन विदेशी पुरुष र एक महिला छन् । क्यान, नेपालकै अन्य दुई कर्मचारी घाईते भएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

बिहीबार बिहान करिब ८ बजे पहिरो गएको स्थानीयले जनाएका छन् । पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गा घर भएकी क्यान, नेपाल बस्ने २५ वर्षिया रञ्जना बस्नेत, पर्यटक गाईडहरु गोकर्ण काठमाडौं बस्ने ३५ वर्षीय दार्जे लामा र ३० वर्षीय छिरी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि अन्य ६ जना घाईते भएका छन् । घाईतेहरुलाई दिउँसो १ बजे मात्रै हेलिकप्टरले उद्धार गरेर काठमाडौं लगेको छ ।

त्यस क्षेत्रमा राती पानी परेर पहिरो गएको अनुमान गरिएको छ । रञ्जनालाई पहिरोले पुरेपछि बुढीगण्डकी नदिले बगाएको त्यहाँ पुगेका प्रहरीले जानकारी दिएका छन् । घटना स्थल वरपर टेलिफोनको सुविधा छैन ।

‘घटनास्थलमा पहिरो खस्ने क्रम रोकिएको छैन,’ प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले घटना स्थल पुगेका प्रहरीलाई उदृत गर्दै भने । पहिरोकै कारण शवहरुको उद्धार हुन सकेको छैन । सिर्दिबासको जगत र माछिखोला प्रहरी चौकीका ७ जना प्रहरी घटनास्थल पुगेका हुन् ।

आरुघाट इलाका प्रहरी कार्यालयबाट पनि प्रहरी खटाईएको छ । आरुघाटबाट घटनास्थल पुग्न दुई दिन लाग्छ । स्थानियबासीका अनुसार १५ जना पर्यटकको टोली उहियाको खोर्लामा बास बसेर मनासलु क्षेत्र तर्फ गएका थिए । उनीहरुनै पहिरोमा परेका हुन् । क्यानका कर्मचारीहरु भने विहि गाविसबाट सदरमुकाम तर्फ फर्कदै गरेको प्रहरीले जनाएको छ ।