धादिङ असोज ४ –
काठमाडौंको वीर अस्पतालमा उपचाररत् गोरखा फुजेलकी गंगामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन् ।
अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गंगामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेको बकपत्रसहितको मिसिलमा सो कुरा उल्लेख छ ।
बकपत्रमा गंगामायाले रुद्र आचार्यबाहेकका अरु प्रतिवादीहरु गाउँ–छिमेकका मानिस भएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्–‘देखे–चिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले ‘तँ आफ्नो अंश लिइ बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुपर्यो’ भनी वादविवाद गरी धम्की दिएका थिए ।
त्यहीँबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । निजहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन् ।’
गंगामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ ।
उनले भनेकी छन्–‘तेरा छोरा आर्मीमा जागिर खाइ लेसनायक भएको भनी हामीले मारेका हौं भनेर असारको १५ गते प्रतिवादीमध्येका छविलाल पौडेलले मेरै घरमा गइ भनेका हुन्, हामीले मारिदियौं, तँ मुसाले के गर्न सक्छस् भनी धम्कीसमेत दिएर गएका हुन् ।’
गंगामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताएकी छन् ।
गंगामायाले आफ्नो बकपत्रमा भनेकी छन्–‘मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल हुन् । प्रतिवादी छविलाल र परशुराम पौडेल स्वयंले हामीले मारेका हौं भनी अझ ठूला कुरा गरे राम्रो हुँदैन भनेका थिए । निजहरुले नै भनेको आधारमा मैले उल्लिखित प्रतिवादीहरुको संलग्नतामा मेरो छोरा मारेका हुन् भनेको हुँ ।’
प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गंगामायाले भनेकी छन्–‘कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गइ तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठ/१० हजार लिएर जानुपर्यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।’
उनले थपिन्–‘मेरा श्रीमान् भरतपुर अस्पताल पुगिसकेपछि ल भाइको त मृत्यु भइसकेछ भनी तिनै रामप्रसादसमेतले के–के कागज बनाइ मेरो श्रीमान्को हात समाइ सही गर्न लगाइ लास बुझेर पोल्नसमेत उक्साएको मेरा श्रीमान् नन्दप्रसाद घर गइसकेपछि यसरी मारेछन् भनी सुनाएपछि थाहा पाएको हुँ ।’
गंगामायाले पूर्वतयारीकासाथ आफ्नो छोराको हत्या भएको बताएकी छन् । बकपत्रमा गंगामायाले भनेकी छन्–‘प्रतिवादी भीमसेन र पर्शुरामबाहेक चितवनमा मेरो छोरा चिन्ने अरु कोही थिएनन् । मेरो छोरा कृष्णप्रसाद घरबाट निस्किएर चितवन गएकै दिन प्रतिवादी छविलाल मेरो घरमा गइ छोराहरु कहाँ गए भनेर सोधेका थिए । मैले सीधै कान्छो चितवन गयो, ठूलो ट्युसन पढाउन गयो भने, वास्तवमा उनीहरु कुरा बुझ्न गएका रहेछन्’–बकपत्रमा भनिएको छ–‘छविलालका छोरा प्रतिवादी पर्शुराम पौडेल र निजकै भतिजा भीमसेनलाई कृष्णप्रसाद चितवन आएको कुरा निजै छविलालले भनेका हुन् । आफूहरुको पनि घरायसी रिसइबी भएको हुँदा मेरो छोरा मार्नमा उनीहरुको संलग्नता थियो ।’
५६ वर्षीया गंगामायाले जाहेरवाला जेठा छोरा नुरप्रसाद अधिकारी चार वर्षदेखि सम्पर्कमा नभएको र श्रीमान्को यसै अस्पतालमा स्वर्गवास भएको पनि बताएकी छन् ।
बकपत्रकाक्रममा उनले छोराको मार्ने–मराउने कार्यमा संलग्न छविलाल पौडेल, भीमसेन, पर्शुराम, रामप्रसाद, जानुकासमेतका व्यक्तिहरु मुख्य हुन् । बाँकी तिनैका समूहका व्यक्ति भएको बताएकी छन् ।
‘कसुरबमोजिम अपराधीहरुलाई कारबाही होस्’ भन्ने उनको माग छ ।
गंगामायाले पोलिग्राफ टेस्ट गर्न नमान्ने अपराधीहरुलाई कारबाही हुनुपर्नेमा पनि जोड दिएकी छन् । सो मुद्दामा यही असोज ९ गते सुनुवाइ हुँदैछ ।
सो अदालतको ३७ वर्षको इतिहासमा पहिलोपटक अस्पतालका चिकित्सक डा. मनेनप्रसाद गोर्खाली र अस्पतालका कानुनी सल्लाहकार पूर्णिमा गुरागाइँको रोहवरमा यही असोज २ गते स्रेस्तेदार पन्तले बकपत्र लिएका थिए ।
वि.सं. २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये ८ जनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् ।
जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् ।
अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारिखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल ‘अजीव’लाई प्रतिव्यक्ति रु २७ हजार धरौटी लिइ तारिखमा छोडेको छ ।
त्यसैगरी, मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही रु २० हजार धरौटी लिइ तारिखमा छाडेको छ ।
रासस