धादिङ असोज २
नेपालमा लामो संघर्ष र बलिदानी पछि प्राप्त संविधान जारी भएको सोमबार १ वर्ष पुरा हुदै छ । जुन दिनलाई नेपालले महत्वपूर्ण दिनको रुपमा लिने गर्दछ । संविधान जारी भएको दिन संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल,परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी छन् ।
यस्तै परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल छन्। टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मा पनि सहभागी हुनेछन् ।
यस्तै परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत पनि टोलीमा सहभागी हुनुहुनेछ । प्रतिनिधिमण्डलमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनुहुनेछ ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संविधान दिवस कै दिन प्रधानमन्त्री विदेश जान लागेको भन्दै विरोध समेत भईरहेको छ । मधेशी मोर्चाले भने प्रधानमन्त्री जाने बेलामा विरोधको कार्यक्रम गर्ने जनाएको छ ।