धादिङ भदौ २९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने राजकीय भ्रमणका लागि भोली बिहीबार दिल्ली जाँदैछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री भोली भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँग उनकी श्रीमती सीता दाहाल सहभागी हुने छिन् । प्रधानमन्त्री प्रचण्डलाई राजकीय पाहुनाको रुपमा राष्ट्रपति भवनमा राखिने भएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने छन्। केही सांसद, बिभिन्न मन्त्रालयका पदाधिकारी, संचारकर्मीलाई पनि भ्रमणमा सहभागी गराइने छ।
भ्रमणको कार्यतालिकाअनुसार भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन्। त्यही दिन उनले भारतका बिभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।
भदौ ३१ प्रचण्डको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रम आयोजना गरिएको छ। त्यसैदिन उनी माहात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने तालिका छ।
भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग र भारतीय समकक्षी नरेन्द्र मोदीसँग अलगअलग भेटवार्ता गर्नेछन् । सोही दीन केही भारतीय मन्त्रीहरुले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन् । असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्जल प्रदेश स्थित जलविद्युत परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन उनले पतञ्जली योगपिठको पनि अवलोकन गर्ने कार्यक्रम पनि मिलाइएको छ। प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।