तरुण दलको महाधिवेशन फेरी स्थगित, धादिङमा समेत विवाद

Avatar photo
Dhadingpost
बुधबार, भदौ २९, २०७३

धादिङ भदौ २९

nepali-congress-flag

नेपाली कांग्रेसको भगीनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।तर अर्को भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन भने अनिश्चित बन्न पुगेको छ ।

१४ भन्दाबढि जिल्ला अधिवेशन विवादका कारण हुन नसकेपछि आज बसेको पार्टी निर्देशक समिति बैठकले महाधिवेशन छठ पर्व पछि गर्ने समझदारी गरेको हो ।

‘विवादका कारण झण्डै २० जिल्ला अधिवेशन हुन बाँकी रहेकाले छठ पछि महाधिवेशन गर्ने प्रस्ताव आएको छ,’ पार्टी केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘बिहीबार बस्ने निर्देशक समितिले महाधिवेशनको मिति तोक्नेछ ।’

विवाद समाधानका लागि अध्यक्ष उदयसमसेर राणाको संयोजकत्वमा जन्मजय तिमलसेना, टेकराज पौडेल, नारायण भट्टराई र रमश खरेल सदस्य रहेको समिति गठन गरेको छ । समितिले मंगलबारसम्ममा विवाद समाधान गर्ने जनाएपनि एउटा पनि जिल्लाको विवाद अन्त्य भएको छैन ।

जिल्ला अधिवेशन सम्पन्न नहुँदा भदौ २४ देखि गर्ने भनिएको महाधिवेशन असोज ३ देखि गर्ने गरी सारीएको थियो । तर, विवादित जिल्लामा विवाद सल्टन नसकेपछि महाधिवेशन पुनः सार्न लागिएको हो ।

विवादकाकारण प्रदेश नम्बर २ का महोत्तरी र सिराहा बाहेक कुनै जिल्ला अधिवेशन भएको छैन भने कपिलवस्तु, गोरखासहितका केही जिल्ला तयारीमा छन् । सुर्खेत र उदयपुरको जिल्ला अधिवेशन उद्घाटन भएपनि विवादका कारण टुंगो लाग्न बाँकी छ । सर्लाहीको क्षेत्रीय अधिवेशन भएपनि जिल्ला हुन सकेको छैन भने धादिङसहितका केही जिल्लामा विवाद छ । भक्तपुरमा पार्टी एकीकरणपछि देखिको विवाद मिलेको छैन भने मुस्ताङमा अहिलेसम्म पूर्णकालीन सदस्यता नै वितरण भएको छैन ।