धादिङ भदौ २६
मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोगी तानित्रकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।
स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको पाइएको हो । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् ।
प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर, हाडखोर र खुकुरीसमेत बरामद गरेको छ । उक्त पसल पहिले प्रेम सिवाकोटीले चलाउँदै आएका थिए । पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउदै आएकी छन् । गत बर्ष पक्राउ सीतालाई कागजी जमानीमा छाडिएको थियो । ‘उनीहरुले पहिले ससुरासँग लिने गरेको भन्दै मोलतोल आफैंले तोकेर सीतासँग खप्पर किनेको बयान दिएका छन्, ब्युरोका अधिकारीले भने । तान्त्रिकको अपत्यारिलो कथा र आश्वासनका पछि दौडँदा अन्जानमै मानव वलिजस्तो जघन्य अपराधले प्रश्रय पाउन लागेको प्रहरीले जनाएको छ ।
स्वम्भू घटनामा पक्राउ परेका पहरीले विभिन्न चमत्कारिक कथा, किताब र तस्विर देखाई आठ जनालाई मानव बलिका लागि तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ ।