एक तस्बिरले बोलेको नगरपालिकाको विकास ?

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

गंगालाल गुरुङ
14045964_1762090960729455_5621619245230079421_n
झट्ट तस्बिर हेर्दा लाग्न सक्छ यो बाटो धादिङको विकट ठाउ गुम्दी , तिप्लीङ , झार्लाङ तिर होला । झार्लाङ तिप्लीङ तिर पनि राम्रो बाटोको स्तर बनाउनु पर्ने रैछ भन्ने तपाइको मनमा लाग्न सक्छ । तर यो तस्बिर धादिङको विकट बस्ती नभई जिल्लाको सदरमुकामबाट निकटको ठाउ हो । धादिङको ४ वटा गाविसलाई मिलाएर नीलकण्ठ नगरपालिका घोषणा गरेको पनि आज यतिका वर्ष भईसक्यो तर पनि विकासको नाउमा भएको यी यस्ता प्रगतिले धादिङको विकास निर्माणको गति कुन रुपमा भईरहेको छ प्रष्टै हुने गर्दछ ।
तस्बिरमा देखिएको यो ठाउ धादिङको नीलकण्ठ नगरपालिका वडा नं १० सल्लेघारीमा शुक्रवार भएको दुर्घटना हो । नीलकण्ठ नगरपालिका जिल्ला सदरमुकाम धादिङवेशी नजिकको ठाउँको त यो हालत छ भने अन्य गाविस र विकट वस्तिको विकास निर्माणको कार्य कस्तो होला ? सदरमुकामबाट एक घण्टाको दुरिमा रहेको घोषित नगरपालिका क्षेत्र भित्रको यो हविगतले नगरपालिका कुन आधारमा घोषणा गरियो भन्ने कुरामा स्थानिय वासिन्दा अन्योल परेका छन । धादिङ यातायात व्यावसायिले जोखिम मोलेर पनि नगरपालिका क्षेत्र भित्र सेवा प्रदान गर्ने उदेश्यले गाउँ गाउँ सम्म कच्ची सडकमा सेवा दिईरहेका छन ।
यदि यो बस पल्टिएर मानवीय क्षति भएको थियो भने पक्कै पनि राष्ट्रिय मिडियामा समाचार बन्थ्यो ठूलो तस्बिर सहित छापिन्थ्यो र रेडियो तथा टेलिभिजनले खुराक पाउथ्यो अनि भोलिपल्टबाट सेलाएर जान्थ्यो । तर संयोगले गाडि बिच बाटोमा नै पल्टियो बस चालक तथा साहुले हार गुहार गरेर बसले पन्छाए । न मिडियालाई थाहा पाए न त जिविसले देखे न नगरपालिका न यसै क्षेत्रबाट चुनाव जितेर जानु भएका सांसद गुरु बुर्लाकोटी गंगालाल तुलाधर न त रामनाथ अधिकारी ज्यूले देख्नु भयो ? तर यो तस्बिरले धादिङको सडक क्षेत्रमा भएको विकासको प्रतिनिधित्व गरेका छन । धादिङमा नगरपालिका भएर पनि विकास कतिको भएका छन सबै नागरिकले यो तस्बिर हेरेसी थाहा पाउनु हुनेछ । यो ठाउमा यतिको विकास भए उतिका बिकास भएर भनेर भनिराख्नु पर्ने देखिदैन । एक महत्वपूर्ण भनाई यहाँ नेर आएर सावित भएका छन हजार शब्दले वर्णन गर्ने कुरालाई एउटै तस्बिर बोलेका हुन्छन । प्रमाणित गर्ने तस्बिर बनेका छन ।
धादिङमा हाल ४६ वटा गाविस र १ नगरपालिका रहेका छन । नीलकण्ठ नगरपालिकाको नगरक्षेत्रमा नै यस्तो दुर दशा भोग्न वाध्य भईरहेका छन । तर पनि सरकारले दिन प्रतिदिन नगरपालिकाको अवधारण ल्याईरहेका छन । नगरपालिकाको रुपमा घोषित हुन आधारभूत रुपमा जनसंख्या , विद्युत, खानेपानि, टेलिफोन, यातायात , स्वास्थ्य र शिक्षामा मापदण्ड पुरा भएका हुनुपर्छ । तर पनि यी मापदण्ड नगरपालिका घोषित भईरहदा कति पूर्वाधार पुरा भए कति अधुरैको बिचमा घोषणा भए त्यो सम्बन्धित निकायको कुरा हो ।
नीलकण्ठ नगरपालिकामा विकासका पूर्वाधारको अवस्था
१.शिक्षा
शिक्षा मानिसको लागि अपरिहार्य हो । तर पनि शिक्षाका लागि पायक पर्ने ठाउँमा विद्यालय स्थापना नभईरहदा कतिपय विद्यार्थीहरु उच्च शिक्षा लिनबाट नगरक्षेत्रका विद्यार्थीहरु बञ्चित भईरहेका छन । धादिङको नीलकण्ठ नगरपालिकाको हकमा कुरा गर्ने हो भने उच्च शिक्षाको लागि पर्याप्त मात्रामा उच्च मावि नहुदा एल एल सि पछिको पढाईलाई बिचमा नै छाडनुपर्ने अवस्था देखिन्छ । नगरक्षेत्र भित्रकै नगरवासिको कुरा गर्ने हो भने वडा नं. १ का लागि उच्च मावि नहुदा जुरेथुम , सिम्ले , चिसापानि ,सिउडिवार लगायत गाउका विद्यार्थी उच्च शिक्षाको लागि अझै पनि सदरमुकाम धादिङवेशी वा राजधानि काठमाण्डौ जानुपर्ने बाध्यता रहेका छन । नीलकण्ठ नगरपालिकाको पायक पर्ने ठाउँमा बहुमुखि क्याम्पस स्थापना नहुदा सुनौला बजार , साङकोष , मुरलीभञ्ज्याङका विद्यार्थीहरु उच्च मावि गाउ नजिकैको ठाउमा जसो तसो पढेपछि थप उच्च शिक्षा हाँसिल गर्न सदरमुकाम वा जिल्ला वाहिर जानुपर्ने वाध्यता कायम नै रहेका छन ।
२. खानेपानी
खानेपानीको दृष्टिकोणले हेर्दा नगरक्षेत्र भित्रका उपभोक्ता अझै पनि आधा एक घण्टाको बाटोमा पानी लिन जानुपर्ने वाध्यता रहदै आएको छ । धादिङको मुरलीभञ्ज्याङ र सुनौला बजार क्षेत्रमा अझै पनि खानेपानीको समस्या रहदै आएको छ ।
३.विद्युत
नगरक्षेत्रमा विद्युत लाईन प्रसारण कार्य भईरहे पनि कुनै बेला विद्युतमा समस्या आएमा चुस्त रुपमा कर्मचारी नखटिदा नगर क्षेत्रभित्र नै हप्ता दिन सम्म अध्यारोमा नै बस्न वाध्य भईरहेका छन । विशेष गरि धादिङको सुनौलाबजार र जुरेथुममा खानेपानी लिफ्टीङ प्रविधिद्धारा सञ्चालन हुने हुदा विद्युत समस्या वेलैमा समाधान नहुदा उपभोक्ताहरु विद्युत र खानेपानीको मारमा पर्ने गरेका छन ।
४.स्वास्थ्य
मान्छेको सबै भन्दा महत्वपूर्ण आधार भूत आवश्यकता भनेको स्वास्थ्य हो । भनिन्छ स्वास्थ्य नै धन हो । पायक पर्ने ठाउँमा स्वास्थ्य चौकी स्थापना नहुनुले पनि नगरवासिन्दा सामान्य रोगको उपचारको लागि पनि सदरमुकाममा रहेको क्लिनिक तथा जिल्ला अस्पतालमा धाउन वाध्य भएका छन । केरावारी , जुरेथुम, सिम्ले चिसापानी , सिउडिवार , ढोडेनी लगायतका वासिन्दा सामान्य ज्वरोको उपचारको लागि पनि सदरमुकाम धाउन वाध्य भईरहेका छन ।
सञ्चार
सञ्चार क्षेत्रमा धादिङको नीलकण्ठ नगरपालिकामा ४ वटा रेडियो १ स्थानीय टेलिभिजन सञ्चालनमा रहेका छन । ल्याण्डलाईन टेलिफोन विस्तार कार्य भने सदरमुकाममा मात्र रहेका छन । तर नेपाल टेलिकमको नमस्ते , एनसेल तथा स्काई लगायत सेवा प्रदायक संस्थाहरुले सेवा प्रदान गरेपनि गुणस्तरीयता भने कमि नै रहेको छ । एनसेल तथा नमस्तेबाट फोन गर्दा हत्तपत्त फोन नै नलाग्ने र लागिहालेमा आवाज पनि नबुझुने समस्याबाट हैरानी हेप्न वाध्य भएका छन ।
यातायात
धादिङको नगरपालिका क्षेत्रमा तपाई पक्की सडकमा यात्रा गर्नी भनेको धादिङवेशी सदरमुकाम र सदरमुकामबाट ससाह सम्ममा मात्र हो । तर अन्य ठाउमा भने तपाई कोच्चिएर , ठोक्कीएर , हल्लिएर यात्रा गर्न वाध्य हुनु पर्ने नगरवासिको वाध्यता रहेको छ ।सदरमुकाम धादिङवेशीमा नै सवारी साधन नपाउदा काम विशेषले सिरानबजार पुछारबजार गर्दा हिडन परिरहेका छन । धादिङवेशीबाट गाउ गाउसम्म सडक विस्तार गरेपनि सुधार भने हुन सकेको छैन । धादिङवेशी काउले सडक विस्तार गरेको १५ वर्ष भन्दा बढि भईसकेको छ तर त्यहाँ अहिलेसम्म ग्राभेलसम्म पनि हुन सकेको छैन । धादिङवेशीबाट चिसापानि काउलेका लागि छुटने ट्रक तथा जिप सदरमुकाम छोडेपछि सबै कच्ची बाटोमा यात्रा गर्न वाध्य भईरहेका छन । नगरपालिकाको क्षेत्र धादिङवेशी सेउली भोर्ले , धादिङवेशी काफलपानी , धादिङवेशी केरावारी , धादिङवेशी चिसापानि, धादिङवेशी सुनौलाबजार सबै ठाउको सडकको अवस्था अत्यन्त नाजुक रहेका छन ।
यसरी धादिङको नगरपालिका क्षेत्र भित्र नै यस्तो कन्तविजोक छ भने झन अन्य गाविस तथा विकट वस्तिको अवस्था कस्तो होला ? त्यो कल्पना गरिनसक्नुको छ । नगरपालिका घोषणा पछि नगरवासिले के कुरामा राहात महशुस गरे नगरवासि अलमल परिरहेका छन ।

तस्बिर :नेत्र गुरुङको फेसबुकबाट