प्रचण्डले फोनमा भने ‘खोई त मन्त्रीको नाम’

Avatar photo
Dhadingpost
बुधबार, भदौ ८, २०७३

धादिङ भदौ ८

deuba-prachanda-538x335

प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम आजपनि टुँगो लगाउन सकेन । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीचको तिव्र विवादका कारण काँग्रेसले अझैसम्म मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुँगो लगाउन नसकेको हो ।

सभापति देउवाले पौडेल पक्षबाट चार जनालाई मात्रै मन्त्री बनाउने निर्णय गरेपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आफ्नो पक्षबाट नाम नदिएको हो ।  पौडेल पक्षले कम्तिमा पनि पाँच जना हुनुपर्ने माग गरेको हो । तर देउवाले पौडेल पक्षलाई अहिलेको अवस्थामा पाँच मन्त्रालय दिन नसक्ने दाबी गरेको छ । देउवा र पौडेलवीच आज मन्त्री टुँगो लगाउने विषयमा निकै ठुलो कसरत भएको थियो । आज विहानैदेखि दुवै पक्ष मन्त्री टुँगो लगाउने दौडधुपमा थिए । तर परिणाम केही आएनन् । अन्ततः काँग्रेसले आजपनि आफ्नो पक्षबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम पठाउन सकेन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई आजसम्म नाम पठाउन आग्रह गरेका थिए । तर देउवाले आजपनि मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम पठाउन सकेनन् । देउवाले साँझसम्म मन्त्रीको नाम टुँगो लगाउनेमा प्रधानमन्त्री विश्वस्त थिए, तर उनको ठम्याई गलत सावित भयो ।

देउवाले नाम पठाउन नसकेपछि प्रधानमन्त्री दाहालले फोन गरेर भने,‘खोई त आजपनि नाम पठाउनुभएन, के गर्न खोज्नुभएको हो ?’ जवाफमा देउवाले आज एक दिन पर्खिन आग्रह गरेका थिए । देउवाले प्रधानमन्त्री दाहाललाई आज रातिसम्म नाम फाईनल गरेर भोलि दिने वचन दिएका छन् ।