शंकर रिजालको निर्देशनमा ‘एकलव्यको अन्तिम टेप’ मञ्चन

Avatar photo
Dhadingpost
शनिबार, साउन २९, २०७३

काठमाडौं साउन २९ । विश्वभरी धेरै पढिने नाटकमा पर्छ नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार सेमुयल बेकेटको नाटक ‘क्राप्स लास्ट टेप’ ।

दोस्रो विश्वयुद्धपछि लेखिएको यो नाटक विश्वका विभिन्न विश्वविद्यालयहरुमा समेत पढाई हुन्छ । नेपामा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतमा स्नातक तहमा समावेश यस नाटक अहिले नेपाली भाषामा मञ्चन भइरहेको छ ।

सुनधारा, काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा बेकेटको नाटकलाई नेपाली करण गर्दै ‘एक लव्यको अन्तिम टेप’ नाम दिई मञ्चन भइरहेको छ । जसलाई शंकर रिजालले निर्देशन गरेका छन् भने मञ्चमा वर्तमान रंगमञ्चमा उर्जाशील अभिनेता सुदाम सिकेको एकल अभिनय देख्न सकिन्छ । साउन २१ शुक्रबारदेखि सुरु भएको नाटक सातामा मञ्चन भइरहेको छ । नाटक साउन ३२ सम्म मञ्चन हुनेछ ।

मनिसको जीवन–मृत्यु, दुःख–सुखका अस्तित्वलाई आफ्ना भोगाई र सम्झनाहरुमार्फत एक वृद्धले खोतलेका छन् नाटक ‘एकलव्यको अन्तिम टेप’मा । आफ्नो हरेक जन्मदिन ग्रामोफोन आफ्ना अनूभूती, अनुभव रेकर्ड गरेर र पुराना रेकर्ड सुनेर मनाउने सो पात्रका तीता–मीठा सम्झनाले वर्तमान कथित आधुनिक समयका मानिसका छटपटीलाई सम्बोधन गर्छ । मानव अस्तित्व, प्रेम र मृत्युको प्रतिनिधि चरित्रका रुपमा एकलव्य प्रस्तुत भएको छ नाटकमा ।

एकलव्यको चरित्रमा सुदाम सिकेको मेहनत र गम्भीरता देखिन्छ । वर्तमान रंगमञ्चमा निरन्तर उत्रिरहेका सुदाम प्रतिवद्ध रंगकर्मी हुन् । पछिल्लो समय चलचित्रमा समेत आफूलाई नोटिस गराइसकेका उनको यो पहिलो एकल अभिनय हो । यसअघि उनले नाटकहरु ‘ऊ कस्को ?’, ‘कोर्ट मार्सल’, ‘स्वप्नमहल’, ‘ओ स्टार दुनियँ“’, ‘च्यातिएको पर्दा’ तथा चलचित्रहरु ‘टलकजंग भर्सेस टुल्के’, ‘षडङ्ग’, ‘रेड मनसुन’, ‘होस्टेल रिटन्र्स’ मा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेका छन् ।