धादिङ साउन २१
नेपाल वायुसेवा निगमले ४ वर्षपछि पुनः काठमाडौं–दुबई–काठमाडौं सीधा उडान गर्ने भएको छ ।सन् १९८५ मा दुबई सीधा उडान सेवा दिएको निगमले विमान कमीको कारण सन् २०१२ देखि सेवा बन्द गरेको थियो । अब निगमले भदौ २ गतेदेखि सातामा तीन उडान गर्ने जनाएको छ ।
काठमाडौंबाट आइतबार, मंगलबार र विहीबार उडान गर्ने र दुबईबाट सोमबार, बुधबार र शुक्रबार गर्ने निगमले जनाएको छ ।दुबई गन्तव्य सुरु भएपछि निगमको अन्तर्राष्ट्रिय उडान ८ पुग्नेछ । काठमाडौं–दुबई–काठमाडौं सीधा उडानले रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई सहज हुने निगमले जनाएको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले १२ देखि १८ महिनाभित्र थप दुईओटा ‘वाइड बडी’ विमान भित्रने र सेवा विस्तार गरिने बताए ।हाल नेपालले ३८ ओटा मुलुकसँग हवाई सम्झौता गरेपनि विमानको कमीका कारण पाँचओटा मुलुकमामात्रै उडान भरिरहेको छ ।