धादिङ साउन १७
सोमाबार श्रावण कृष्ण चतुर्दशी, काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो पर्व नेवार समुदायमा महत्वका साथ मनाउने गरिन्छ ।
मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउने चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ ।
यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ । बेलुका घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ ।
घण्टाकर्णलाई सेलाएपछि घरको दैलोमा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ ।