अझै केही दिन देशैभर पानी पर्ने

Avatar photo
Dhadingpost
बुधबार, साउन १२, २०७३

धादिङ साउन १२
JHari

देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार र बिहीबार पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

नेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । भारी वर्षाभने बुधबारदेखि नै क्रमशः घट्दै जाने जानकारी मौसमविद् शान्ति कँडेलले दिइन् । उनका अनुसार मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेका कारण नेपालमा बढी पानी परेको हो ।

बंगाल र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा उत्तरी हिमालमा ठोक्किएर नेपालतर्फ फर्किदा बढी वर्षा भएको महाशाखाले जनाएको छ । दक्षिण एसियाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनिनोको अवस्था कमजोर हुँदै गएको र लानिनोको अवस्था बलियो भएकाले मनसुनको अन्त्यतिर झन् बढी वर्षा हुने मौसमविद्को निष्कर्ष छ ।

नेपालमा वर्षभरिमा हुने कुल वर्षाको ८० प्रतिशत वर्षा मनसुनका चार महिनामा हुन्छ ।