धादिङ–पोखरा सम्पर्क समितिले शनिबार पोखरामा वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले वार्षिक नियमित कार्यक्रम अनुसार आयोजना गरेको यो कार्यक्रम १३ औं संस्करण हो । भारी वर्षाका बीच भएको कार्यक्रममा ११३ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाले पहिलो रक्तदाता राजेन्द्र प्रसाद इटनीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले धादिङ–पोखरा सम्पर्क समितिले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गरेर उत्कृष्ट सामाजिक कार्य गरेको बताए ।उनले भने–‘धादिङ समिति पोखराको उत्कृष्ट सामाजिक संस्था हो र समितिले गर्ने सामाजिक गतिविधि पनि उत्कृष्ट छन् ।’ रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संघ–संस्थामध्ये धादिङ समिति उत्कृष्ट संस्था भएको उनले स्पष्ट पारे । उनले कार्यक्रममा रक्तदान गर्ने, कार्यक्रमका लागि आर्थिक एवं जिन्सी सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन समेत गरे ।
कार्यक्रम बारे प्रकाश पार्दै कार्यक्रम संयोजक योगप्रसाद सापकोटा ‘नवराज’ ले विश्वमा मानव रगतको कुनै विकल्प नआएको बताए । उनले रक्तदान गर्दैमा कोही पनि कमजोर नबन्ने भन्दै रक्तदान गरेरै अन्यको जीवन बचाउने महत्वपूर्ण पुण्य कार्य हुने बताए । समितिका अध्यक्ष झम्क सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल र संचालन सचिव सुदर्शन बसौलाले गरेका थिए । कार्यक्रममा सल्लाहकार परिषद् संयोजक रुद्र प्रसाद खनाल, सदस्य वेनी पाठक र ढोला इकाइ अध्यक्ष अर्जुन भट्ट लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।