धादिङ, ४ असार । लामो समयदेखि कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदा विकटमा रहेको सेर्तुङ स्वास्थ्यचौकीको स्वास्थ्यसेवा प्रभावित हुँदैआएको छ ।
जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब पाँच घन्टा कच्ची मोटरबाटो र करिब ६ घन्टा पैदलयात्रा हिँडेपछि पुगिने सेर्तुङ गाविसको स्वास्थ्यचौकीमा लामो समयदेखि कुनै पनि स्वास्थ्यकर्मी नहुँदा समस्या आएको हो ।
भूकम्पपछि अधिकांश पीडित टहरामा बस्दैगरेकाले बिरामी हुनेको सङ्ख्या बढेर दैनिकरुपमा स्वास्थ्यचौकीमा चाप परेको भएपनि स्वास्थ्यकर्मीको अभावमा बिरामीले उपचार पाउन सकेका छैनन् ।
स्वास्थ्यचौकीका कार्यालय सहयोगी पन्तमान तामाङ दिनमा आउने करिब १०० बिरामीलाई औषधि दिन्छन् । स्वास्थ्यकर्मी नभएकाले उपचारका लागि आउनेलाई त्यसै फर्काउनुभन्दा फोन गरेर सोधेर भए पनि औषधि दिने गरेको र स्वास्थ्यकर्मी नआउँदा बिरामीले उपचार नपाएको उनले बताए ।
सुमायाँ तामाङ बच्चा जन्माउन स्वास्थ्यचौकी आइपुग्दा कोही नभएपछि कार्यालय सहयोगीले नै बच्चा जन्माइदिएको बताइएको छ ।
स्वास्थ्यचौकीमा डाक्टर मात्र होइन औषधि तथा उपकरण पनि छैन । बिरामीको लस्कर लाग्ने ठाउँमा बिरामीले भन्ने बित्तिकै उपचार नपाउने अवस्था आएको सेर्तुङका रिकमान तामाङको भनाइ छ ।
डाक्टरलाई बिरामीको जीवनदाताको रुपमा लिइन्छ । तर धादिङका अधिकांश ग्रामीण क्षेत्रमा डाक्टरको अभावका कारण अकालमै बिरामीको ज्यान जाने गरेका छ । सेर्तुङ स्वास्थ्यचौकीमा एक जना हेल्थ असिस्टेन्ट, दुई जना अहेव, दुई जना अनमी र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि कार्यालय सहयोगीको भरमा उपचार गराउने गरिएको लामो समय भइसकेको र जिल्लामा गाउँको अवस्थाबारे जानकारी दिँदासमेत बेवास्ता गरिएको गाउँवासीको आरोप छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत मोहनप्रसाद सुवेदीे स्वास्थ्यचौकी नै खाली भएको जानकारी नभएको र सो क्षेत्रमा स्वास्थ्यकर्मीलाई नियमित गर्नेबारे जिल्ला तहमा समेत धेरै छलफल भएको बताउनुभयो ।
सेर्तुङमा मात्र होइन विकटका अन्य स्वास्थ्यचौकीमा समेत स्वास्थ्यकर्मी नबस्ने समस्या छ । रासस