अस्थायी शिक्षकहरुले तत्काल विद्यालय छोड्नु नपर्ने

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७३

धादिङ ,जेठ २६ download

शिक्षा मन्त्रालयले विज्ञापनमार्फत स्थायी शिक्षक पदपूर्ति नभएसम्म अस्थायी शिक्षकहरुले विद्यालय छोड्नु नपर्ने बताएको छ।
संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकहरुलाई सुविधा लिएर अवकाश लिने वा प्रतिस्पर्धामा उत्रिएर स्थायी हुने विकल्प दिएकामा मन्त्रालयले अवकाश रोज्ने शिक्षकहरुलाई स्थायी शिक्षकको पद्पूर्ति भएपछि मात्र विदा दिने बताएको हो। बुधबार काठमाडौंमा आयोजित एक अन्तक्रियामा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले मन्त्रालयले सार्वजनिक सूचना निकालेर अवकाश रोज्ने शिक्षकहरुको लगत संकलन गर्ने र त्यसपछि शिक्षक सेवा आयोगमार्फत विज्ञापन आव्हान गरेर स्थायी शिक्षकको नियुक्ति गरेपछि मात्र अवकाश रोज्ने शिक्षकलाई सुविधा दिएर विदा दिने बताए।
हाल देशभरका सामुदायिक विद्यालयहरुमा करिब १८ हजार अस्थायी शिक्षक छन् । अवकाश रोज्ने शिक्षकले सेवा अवधिका आधारमा प्रत्येक वर्षका लागि आधा महिनादेखि डेढ महिनाको तलब बराबरको सुविधा पाउने छन् । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको आठौं संशोधन विद्यालय शिक्षाको सुधारमा कोशेढुंगा भएको दाबी गरे । उनले ऐनले वर्षौंदेखि समस्याको रुपमा रहेको अस्थायी शिक्षकको समस्या समाधान गर्ने तथा क्षमतावान हजारौं युवालाई शिक्षकका रुपमा विद्यालयमा प्रवेश गर्ने ढोका खोलेकाले अब पठनपाठनमा सुधार हुने र त्यसको परिणाम दश वर्षपछि देखिने बताए।