इजिप्टको कायरोबाट चीनको राजधानी बेइजिङ गइरहेको इजिप्ट एयरको एक विमानमा बम रहेको सूचना आएपछि बुधबार आकष्मिक अवतरण गराइएको छ।
बम रहेको सूचना आएपछि ११८ यात्री र १७ जना चालक दलका सदस्यसहित उडेको यो जहाजलाई उज्बेकिस्तानको उरगेन्च सहरमा अवतरण गराइएको हो ।
उज्बेकिस्तान एयरवेजले एक विज्ञप्ती निकाल्दै बेइजिङ गइरहेको यो जहाजमा बम रहेको सूचना आएपछि स्थानीय समय अनुसार बिहान आठ बजे उरगेन्चस्थित विमानस्थलमा अवतरण गराइएको जनाएको छ ।
समाचार एजेन्सी एफेका अनुसार आकष्मिक अवतरण गराइएपछि विमानबाट यात्रु र सामान झारेर खाली गराइएको छ। जहाजको जाँचका लागि एकान्त स्थानमा लगेर राखिएको थियो ।
एक अज्ञात व्यक्तिले कायरोस्थित सरकारी निकायलाई फोन गरेर सूचना दिएको इजिप्ट एयरको एक सुत्रलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।