धादिङ पिडा चैत्र ९ । नेपालकै पहिलो वाटर किङडम (Water Kingdom) नयाँ व्यवस्थापन सहित आजबाट पुन संचालनमा आएको छ ।
अन्तराष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ २०५४ साल देखि निर्माण सुरु गरिएको ‘वाटर किङडम’ केहि समय देखि बन्द थियो । नयाँ व्यवस्थापन सहित आज प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले उद्घाटन गरे पछि पुन संचालनमा आएको हो ।
करीव १२ करोडमा त्रिशुलीको किनारमा रहेको नेपालकै पहिलो वाटर किङडम उद्घाटन समारोहमा चर्चित लोक गायक पशुपति शर्मा, लोक गायीका प्रिती आले, पार्वती राइलाई ल्याईएको थियो ।
पुरानो संचालकले वेचे पछि धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा स्थानियवासी प्रभात किरण सुवेदी लगायत ४ जना मिलेर नायाँ व्यवस्थापनमा संचालनमा ल्याईएको यस वाटर किङडमलाई गोल्डन बिच रिसोर्ट प्रालि नाम दिईएको छ ।
आज उद्घाटन कै दिन सयौ आन्तरीक तथा वाह्य पर्यटकले संगीतको तालमा पानीको छहरामा नुहाउने देखि घुमाउरो र लामो चिप्लेटीबाट मच्चिदै पोखरीमा हाम फाल्ने जस्ता रमाइला खेलमा रमाएका थिए । पृथ्वी राजमार्गको गल्छी र मलेखुको बीचमा पर्ने पीडा गाविस अन्तर्गत पृथ्वीराज मार्ग सँगै जोडिएको छ ।
राजधानीको उकुसमुकुसबाट बाहिर आएर मनोरञ्जन प्राप्त गर्ने वैकल्पिक स्थानका रुपमा वाटर किङडम (Water Kingdom)लाई लिन सकिने संचालक प्रभात किरण सुवेदीले बताउनु भयो ।