रिहरसिंह राठौर, धादिङ, फाल्गुन २ । गजुरीका विभिन्न बस्तीबाट दुलाहादुलहीकै भेषभुषामा नवविवाहित जोडी राजमार्ग झर्दै थिए । अधिकांश जोडीहरुको वितेका ३ देखि ६ महिनाको अवधीमा बिबाह भएको थियो ।
कसैको मागी त कसैको प्रेम बिबाह भएको थियो । आज प्रणय दिवसको अवसर पारेर गजुरीका डेढ दर्जन नवविवाहित जोडी लाई सन्तान उत्पादनका लागी जन्मान्तरको कुरा गरेर स्मार्ट जिवनयापन गर्न सानो र सुखी परिवारका लागी सल्लाह दिन गलौंदी खोला किनारमा स्मार्ट पिकनिकको पनि आयोजना गरियो ।
सबै नवजोडीसँग सन्तान उत्पादनमा जन्मान्तरको महत्ववारे सामूहिक भलाकुसारी गर्दा कतिपय जोडी लाजले भुतुक्कै भएका देखिन्थे । प्रणय दिवसका अवसरमा सिमान्तकृत तथा अवसरबाट बन्चित चेपाङ समुदायका नवबिबाहित युवा दम्पतीलाई परिवार नियोजनको महत्वबारे जानकारी दिन पिकनिक आयोजन गरएको हो ।
पिकनिक गजुरी प्रथामिक स्वास्थ्य केन्द्रको समन्वयमा हेल्थ कम्युनिकेशन क्यापासिटी कोलाबोरेटीभ एचसिथ्री परियोजनाले आयोजना गरेको थियो । गजुरी गाबिसका स्थानिय साथी सहजकर्ता भीम माया चेपाङले भर्खरै बिबाह गरे १८ जोडीलाई घर घरमा भेटेर कार्यक्रममा निम्तो दिएकी थिइन् ।
पिकनिकमा सहभागी जोडीलाई २० वर्ष पछि मात्र बिवाह, श्रीमान र श्रीमतीबीचको सल्लाह बमोजिम आफूले चाहेको बच्चा, कम्तीमा पनि ३ देखि ५ वर्षको फरकमा अर्को बच्चा जन्माउने, बच्चाको नियमित खोप, शिक्षा, तथा आमा बुवाको रोजगार तथा आयमुलक कार्यमा संलग्न गराउनेबारे जानकारी दिइएको थियो । स्मार्ट परिवारको परिकल्पनामा यो पिकनिक आयोजना गरिएको थियो ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र तथा परिवार स्वास्थ्य महाशाखाको समन्वयमा अमेरीकी विकास नियोग युएसएआईडीको आर्थिक एवं प्राविधिक सहयोगमा अभियान सुरु भएको छ ।
नयाँ पुस्ताका लागि परिवार नियोजन सञ्चार अभियान नाम दिइएको अभियानको लक्ष्य बच्चा नजन्माएका अथवा एउटा बच्चा जन्माएका महिला तथा पुरुषमा आधुनिक गर्भनिरोधक साधनको प्रयोग बढाउने, प्रसुतिपछि ४५ दिन भित्र परिवार नियोजनका साधनको प्रयोगमा सुधार गर्ने, २० बर्ष पछि मात्र पहिलो बच्चा जन्माउने दरमा बृद्धि गर्ने, परिवार नियोजन साधन प्रयोगको चाहना भए पनि साधनको पहुँच नभएका वर्गमा पहुँच पुर्याउने लगायत रहेको स्थानीय परियोजना संयोजक वालकृष्ण खत्रीले बताए ।
पछिल्लो जनसांखिकीय सर्वेक्षणका अनुसार परिवार नियोजनको प्रयोग दर ४७ प्रतिशत मात्र छ । यसैगरि ३२ प्रतिशत भन्दा कमले पहिलो र दास्रो बच्चाको जन्मान्तरका लागि परिवार नियोजनको बिधि अपनाएका, १३ प्रतिशतले मात्र सुत्केरी भएको दुई महिना भित्र परिवार नियोजनको बिधि प्रयोग गर्ने गरेको तथ्यांक छ । साभार कान्तिपुर अनलाईन