हरिहर राठौंर धादिङ । आफूमाथि बलात्कार भएको मुद्दा दिई प्रहरी अनुसन्धानपछि अदालतमा गएर बलात्कार नभएको बयान दिने युवतीलाई धादिङ जिल्ला अदालतले ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ ।
आपसमा मायाप्रीति भई घरजम गर्ने सल्लाह बमोजिम लामो समयदेखि उठबस गर्दै आएका जोडी मध्य मार्पाक ६, निमारचोक बस्ने शान्ति थापाले गत मंसिर २८ गते बेलुका सल्यानकोट ९ बस्ने २१ वर्षीय संगम भन्ने विनोद लायो मगरले मलाई जबरजस्ती करणी गरेको भनी गत पुस ४ गते जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।
प्रहरीले आरोपी विनोदलाई ५ गते नै पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात् गत पुस २० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । बलात्कार मुद्दा दर्ता भए पनि केटा र केटी पक्षबीच आपसी सहमति भई बलात्कार नभएको बयान दिई आरोपितलाई मुक्त गराउने र दुवैको विवाह गरिदिने सर्तमा शान्ति थापाले अदालतमा बयान फेरेकी थिइन् ।
उक्त मुद्दाको सोमबार भएको फैसला अनुसार जिल्ला न्यायाधीश ईश्वरराज अर्यालको इजलासले प्रतिवादी विनोदलाई सफाइ दिई जाहेरवाला शान्ति थापामगरले अदालतमा झुटा बकपत्र गरेको आरोपमा जाहेरवालालाई उल्टै ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
निज शान्तिलाई पक्राउ गरी अदालतमा पेस गर्दा शान्तिलाई सोमबारै कारागार चलान गरिएको छ । अदालती कारबाहीमा यस प्रकारको घटना पहिलो भएको प्रहरीले जनाएको छ ।(कान्तिपूर दैनिक)