हरिहरसिंह राठाैर, धादिङ जोगिमारा, माघ १० । न्यानो कपडा खरिद गर्न भूकम्पपीडित चेपाङहरुलाई दिइएको सरकारी नगद राहतलाई पुरानो ऋण भन्दै असुल्ने फोकस नेपालका २ जना कर्मचारीलाई स्थनीय प्रशासनले कार्यालयमा उपस्थित हुन आदेश दिएको छ ।
स्थानीय प्रशासनले आइतबार प्रहरीमार्फत कार्यालयमा उपस्थित गराउन आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको लिखित आदेशमा प्रहरीले उक्त संस्थाका गरिबी निवारण कोषतर्फका कार्यक्रम संयोजक लालप्रसाद पोखरेल र संस्थाकी जोगीमारा गाविसमा कार्यरत सामाजिक परिचालक सिर्जना श्रेष्ठलाई उपस्थित हुन आदेश दिइएको हो ।
न्यानो कपडाका लागि नगद राहत वितरण गर्ने जिम्मा लिएका संस्थाहरुकै लापरबाहीका कारण जोगीमाराका साढे १५ सय घरधुरीले गत ५ गते मात्रै रकम पाएका थिए ।
जोगीमाराका ६ सय ५० घरधुरीलाई नगद राहत वितरणस्थलमै पुगेर भूकम्पपीडितलाई राहत तथा उद्दारमा खटिएको दावी गर्ने संस्था फोकस नेपालका कर्मचारीले १ सय ३५ घरधुरी विपन्न चेपाङबााट समूहबाट लिएको पूरानो ऋृण असुल्नु पर्ने भन्दै २ देखि ५ हजार रकम असुलेका थिए ।
राहत रकममै जबरजस्ती ऋण असुलेको गुनासो प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, स्थानीय विकास अधिकारी भगवान अर्यालले पीडित वस्तीमा पुगेर स्थलगत अनुगमन गरि उक्त रकम सम्बन्धित पक्षलाई तत्काल फर्काउन आदेश दिएका थिए ।
‘ऋण असुल्न राहतै कब्जा’ शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद सचिवालयबाट उक्त संस्थालाई तत्काल कारबाही गर्न स्थानीय प्रशाासनलाई गत ७ गते नै लिखित आदेश आएको थियो । उक्त आदेशलगत्तै संस्थाले ५ लाख ६८ हजार रुपैयाँ गाविसमार्फत् सम्बन्धित पक्षलाई फर्काएको थियो । साभार ईकान्तिपुर