परराष्ट्रमन्त्री कमल थापा काठमाडौं फर्किदै

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १४, २०७२

kamal thapaकाठमाडौं । पाँच दिने चीनको औपचारिक भ्रमण सकेर उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्कंदै हुनुहुन्छ । गत ८ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि चीन जानु भएका थापा आज स्वदेश फर्किन लाग्नु भएको हो । उपप्रधानममन्त्री थापा बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार उपप्रधानमन्त्री थापा नेतृत्वको टोली थाई एयरलाइन्सको विमानबाट हङकङ हुँदै काठमाडौँ आउने उहाँले जानकारी दिनुभयो । चीन भ्रमणका क्रममा उपप्रधानमन्त्री थापाले चिनियाँ उच्च अधिकारीहरुसँग भेट गर्दै दुई देशबीच भएका सहमतिका केही दस्तावेजमा हस्ताक्षर गर्नुभएको छ ।
थापाले चीन भ्रमणका क्रममा भेटेका उपराष्ट्रपति छावो, समकक्षी वाङलगायतसँगको भेटमा नेपाल–चीनबीचको व्यापारिक नाका सञ्चालन, पेट्रोलिय पदार्थको आयात, पारवहन लगानी व्यवस्था र चीनले नेपालमा गर्ने लगानीका विषयमा पनि छलफल गर्नु भएको थियो । थापासँगै कानुन मन्त्री अग्नि खरेल, परराष्ट्र तथा आपूर्ति मन्त्रालयका सचिवहरु पनि चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो ।