ग्रामिण यातायातको बिरोधमा धादिङ यातायातले गर्यो अनिश्चित बन्द

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ८, २०७२

2धादिङ । दुई यातायात व्यवसायी संगको सामान्य विवादपछि धादिङ यातायात व्यवसायी संघले धादिङ जिल्लामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।
भारतीय नाकाबन्दीपछि पेट्रोलियम पदार्थको अभावसंगै यात्रुहरुले समस्या भोगिरहेको बेला धादिङ यातायात व्यवसायी संघले सोमबार एक पिवज्ञप्ति जारी गरी आजबाट यातायात बन्दको घोषणा गरेको हो । २०६५ सालमा ग्रामीण यातायात सहकारी संस्थाको स्थापना गरी यातायातको सेवा दिईरहेको ग्रामीण यातायातले गाउँ गाउँमा सेवा विस्तार गरेको विरोधमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो ।
धादिङ यातायात व्यवसायी संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा २३ वर्षदेखी धादिङ यातायातले ५६ वटा बसले दिँदै आएको आलोपालो सेवा र सुविधालाई वेवास्था गरि जवर्जस्ती नयाँ र पुराना गाडी धादिङ यातायातले सेवा दिईरहेको क्षेत्रभित्र संचालन गर्ने दुष्प्रयास गरेको भन्दै अनिश्चितकालीन बन्द गरिएको जानकारी गराईएको छ ।
उता ग्रामीण यातायातका महासचिव हरिकुमार श्रेष्ठले आफूहरु नेपाल सरकारको नीति नियममा रही यातायात संचालन गरेकोले ग्रामीण यातायातले प्रदान गरिएको सेवा बन्द नगरिने बताउनुभएको छ । ग्रामीण भेगका स्थानीय तथा सहकारी संस्थाका शेयर सदस्यहरुको माग र आवश्यकताको आधारमा सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।
बन्द र यातायत सुचारुबारे धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानले दुवै पक्षविच छलफल गरिएको र यातायात बन्द हुने स्थिति नआउने बताउनुभयो ।
दुवैपक्षविच छलफल गरेरै समस्या समाधान हुनेमा उहाँले विस्वास व्यक्त गर्नुभयो । धादिङ यातायात व्यवसायी संघले भने सोमबार नै ग्रामीण यातायातका सवारी साधनहरु रोक्ने प्रयास गरेका थिए । सोमबाट धादिङवेसी आरुघाट सडक खण्ड स्थित धादिङवेसी नजिकै बंगैचामा संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा केही बेर सवारी साधान अबरुद्ध गरिएको थियो । केही बेर भएको अवरुद्धको समेत यात्रुहरुले विरोध गरेका छन् ।
भारतीय नाकावन्दी पछि सिमित यातायातका साधनहरु चल्दा चलेका यातायातका साधनहरु समते रोकिएको प्रति यात्रुहरुले गुनासो गरेका छन् । यातायातका साधनहरु रोकेर होइन वार्ताको माध्यमबाट समस्या समाधान गर्न समेत यात्रुहरुले आग्रह गरेका छन् । नेपालमा केही वर्षदेखी सिण्डिकेट नभएको समाचारहरु आईरहेको बेला धादिङ जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले निर्वाध रुपमा यातायात संचालन गर्न र जुनसुकै यातायातमा यात्रा गर्न पाउनुपर्ने यात्रुहरुले बताएका छन् ।