राजधानीबाट ग्यास लिन धादिङ

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ६, २०७२

hariहरिहरसिंह राठौर, धादिङ । राजधानीका सर्वसाधारण रित्ता सिलिन्डर बोकेर धादिङस्थित ग्यास उद्योगमा धाउन थालेका छन् ।
पृथ्वी राजमार्ग आसपास जडान गरिएका बोटलिङ सेन्टरमा ग्यास आएको थाहा पाएपछि राजधानीबाट सिलिन्डर लिएर आउनेको लर्को चलेको छ । नौबिसे र थाँक्रेका ५ वटा ठूला ग्यास उद्योगले राजधानीमा ग्यास वितरण गर्छन्।
ती उद्योगले यसअघि राजधानीमा करिब ६ लाख सिलिन्डर बेचिसकेका छन् । नाकाबन्दीका कारण ती सिलिन्डर भरेर ग्यास उपलब्ध गराउन नसकेपछि ग्राहकहरू उद्योगमै आइपुगेका हुन् ।

‘ग्यास उद्योगमा कार्यरत स्थानीय मजदुरहरूले राजधानीमा रहेका आफन्तजनहरूलाई सिलिन्डर लिएर आउन खबर गरेपछि एक कान दुईकान मैदान हुँदै जो पनि आउन थाले,’ थाँक्रे–४ सात किलोस्थित श्रीग्यास उद्योग बाहिरका चिया पसलेले बताए।

स्रोतका अनुसार उद्योगहरूले पनि प्रति सिलिन्डर १ सय रुपैयाँ डिलर कमिसन र ढुवानी भाडा जोगाउन राजधानीका डिलरहरूको साटो सोझै ग्राहकलाई बेच्न मन पराउँछन्।

‘यौटा रित्तो सिलिन्डर बोकेर इन्धन अभावमा आफ्नै खर्चमा ग्राहक आतेजाते ६० किलोमिटर पार गर्छन्,’ उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष चन्द्रकान्त अधिकारीले भने। ढुवानी र व्यापार सहजताले राजमार्ग छेउछाउमै स्थापना गरिएका ग्यास उद्योगका कर्मचारी र स्थानीय युवाहरूकै मिलेमतो र सक्रियतामा ग्यासको कालोबजारीसमेत बढेको पाइएको छ।

‘नाकाबन्दीअगाडि नौबिसे १ स्थित एचपी ग्यास उद्योगबाट ४५ सिलिन्डर ग्यास पनि बिक्री हुँदैनथ्यो । दसैंयता भने १ हजार १ सय ६४ वटा बेचेको देखिन्छ,’ खानीखोलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले भने।

उद्योग वरपरका बासिन्दाहरूले सबैभन्दा बढी फाइदा उठाएका छन्। ‘उद्योगमा ग्यास बुलेट आएलगत्तै बाहिर २४ घण्टा धर्ना दिन्छन्,’ महादेवस्थानस्थित साल्ट ट्रेडिङको मेट्रो ग्यासको सुरक्षा हेर्नुपर्ने प्रहरी जवानले बताए। जिल्लामा स्थापित १३ वटा र चितवनका ग्यास उद्योगहरूले राजमार्ग र सदरमुकाममा मासिक करिब ३ हजार सिलिन्डरबाहेक दैनिक १६ हजार सिलिन्डर नियमित राजधानी लैजाने गरेका छन्।

‘ग्राहकको सम्बन्ध डिलर र डिपोसँग मात्रै हुनुपर्नेमा ग्यास उद्योगबाटै सिलिन्डर बिक्री र सटही हुने कुरालाई नियन्त्रण गर्न हामीले कडाइ गरेका छौं, पाएको १ महिनासम्म स्थानीयले पनि नपाउने व्यवस्था मिलाएका छौं,’ राजमार्गमा इन्धन र ग्यासको सुरक्षा व्यवस्था मिलाउन गएका जिल्ला प्रहरी प्रमुख सविन प्रधानले सुनाए। साभार कान्तिपर दैनिक