यूरोपेली मुलुक ग्रीसमा आइतबार जनमत संग्रह हुँदैछ ।
खराब ऋणका कारण आर्थिक रुपमा टाट पल्टिन लागेपछि, सहयोगका लागि ऋणदाताले राखेका सर्त मान्ने या नमान्ने भन्नेमा जनमत संग्रह हुन लागेको हो । ग्रीसका अर्थमन्त्रीले भने ऋणदाताहरुले जनतामा आतंक फैलाएको भन्दै उनीहरुको आलोचना गरेका छन् ।
प्रधानमन्त्री एलेक्सिस सिप्रासले पनि जनमत संग्रहमा अन्तर्राष्ट्रिय ऋणदाताले गरिरहेको ब्ल्याकमेललाई अस्विकार गर्न आम जनतालाई अपील गरेका छन् ।
ऋणदाताका शर्त अस्विकार गर्दैमा यूरोपेली संघबाट आफ्नो सदस्यता कसैले खोस्न नसक्ने प्रधानमन्त्रीको दावी छ । यूरोपेली संघका नेताहरुले भने शर्त नस्वीकार्ने हो भने ग्रीस यूरोजोनबाट बाहिरिनुपर्ने चेतावनी दिर्इरहेका छन् ।
गम्भिर आर्थिक संकटपछि, दाताहरुको ऋण चुकाउन नसक्दा ग्रीस टाट पल्टने अवस्थामा पुगेको छ । जुन ३० मा अन्तर्राष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न नसकेपछि ग्रीस खराबी ऋणीहरुको सूचीमा परेको थियो ।