के पो यहाँ थाइ छ ?

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १३, २०७२

धर्ती डग्मग भो लडे घर कठै , गुम्बा तथा मन्दिर ।
हाहाकार चलेर मानव मरे , धेरै बने घायल ।।
चिल्लीबिल्ली बिचल्ली गाम सहरै , कोकोहलो मच्चियो ।
बस्ती धेर उजाड भो शिव हरे ? ठामै कयम् रद्दी भो ।। १।।

कय्यौ अर्बपती भए पथ — पती , झन् सर्बहारा बढे ।
नाना विज्ञ महान पन्डित सबै , आश्चर्य मान्दै रहे ।।
झम्टी दिन्दिन दुस्ट कम्पन छुटी , अत्त्यास थप्दै छ यो ।
कस्तो लाज — हराम कम्पन सधैं , नाङ्गै र बुङ्गै भयो ।।

मन्त्री मङ्गल दुस्ट राजन कडा , पापी शनिश्चर् छ रे ।
यिन्को राज सधैं अमङ्गल दिई , उत्पातमा रम्छ रे ।।

भन्छन् ज्योतिसशास्त्रका जनहरु , यो साल नै कस्ट छ ।
दैवी आपदका विपत्ति जगमा , नाना थरी आउछ ।।

जे जे हुन्छ सकार सज्जन यहाँ , सम्घर्स हो जीवन ।
दैवी कोपविरुध्द मानिस सधैं , लड्दैछ आजीवन ।।
यस्तै हो बुझ जिन्दगी क्षणिक हो , सम्सार अस्थाइ छ ।

प्रकाशित मिति: बद्रीप्रसाद दाहाल- नीलकण्ठ नगरपालिका धादिङ
जेष्ठ १३ गते