मानव अधिकार उल्लंघन भएको भन्दै माओवादीको आपत्ति

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ३, २०७२

बैशाख २, धादिङ ।
एकीकृत नेकपा माओवादी धादिङले पछिल्लो समय जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरु बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।
पछिल्लो समय माओवादी पार्टी कार्यकर्ताहरुलाई प्रहरी प्रशासनले विभिन अभियोग लगाएर पक्राउ गर्ने र हिरासतमा राखेर चरम यातना दिने गरेको भन्दै एकीकृत माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण गराउनुभएको हो ।
maobadi 2

अध्यक्ष भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक पार्टीहरुको संविधानको विवादित विषयहरुमाथी सहमतिको लागि भरपूूर प्रयास भैरहेको बेला जिल्लामा गम्भीर प्रकारका मानवअधिकार उल्लंघनका घटनाहरु सार्वजनिक हुनु दुःखद् रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अपराधका नाममा एकीकृत माओवादीका पार्टी कार्यकर्तालाई छानी छानी पक्रने गरेको र हिरासतमा राखेर झुठा मुद्धामा गलाउने प्रयास भैरहेकोले आम नागरिक सामाज, पत्रकार तथा मानव अधिकारवादीहरुलाई समेत सचेत हुन नेता भण्डारीले आग्रह गर्नुभएको छ । नेता भण्डारीले धादिङ जिल्लामा भैरहेको घटनाले मानव अधिकारको ठाडो उल्लंघन गरेको मात्र नगरेर, विगतका पूर्वाग्रहको समेत पुष्टि गरेको दावी गर्नुभयो

२०७१ साल फागुन १६ गते राती रि गाउँ विकास समितिबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको दार्खा गाउँ विकास समिति बस्ने श्यामबहादुर तामाङ २०७१ फागुन १९ गते मृत अवस्थामा स्थानीय जंगलमा फेला पर्नु सामान्य घटना नभएको भन्दै उहाँले मानव अधिकारवादीहरुलाई समेत त्यसको निष्पक्ष छानविन गरिदिन आग्रह गर्नुभयो ।

२०६९ साल मंसिर १८ गते एकीकृत माओवादी पार्टी धादिङ जिल्ला सदस्य दार्खाका विजय तामाङको हत्या गरी फरार भएको अभियुक्तहरुको खोजी कार्य नगरेर प्रहरीले उल्टो व्यवहार देखाएको नेता भण्डारीले विज्ञप्ति मार्फत जानकारी दिनुभयो । त्यसैगरी २०७० साल पौष ८ गते दार्खा २ का गंगालाल तामाङको हत्या विरुद्ध मृतकका श्रीमतीले पटक–पटक किटानी जाहेरी दिँदा पनि जाहेरी लिन प्रहरीले नमानेर पीडित पक्षले हुलाकमार्फत निवेदन दिँदा समेत न्याय नपाइको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो पटक हाल दार्खा बस्ने मेगबहादुर तामाङ र सेमजोङ २ का चन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी निर्मम तरिकाले शारिरिक एवम् मानसिक यातना दिई झुठो अभियोग स्विकार गर्न दवाव दिईरहेको माओवादीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालयबाट भएको मानव अधिकार हनन्का घटनाको निष्पक्ष आवाज उठाइदिन समेत माओवादीले मानअधिकारवादी संघ संस्था, नागरिक समाज, पत्रकार लगायत सबै पक्षसंग आग्रह गरेको छ