
धादिङ । धादिङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गङ्गाजमुना झरनामा लाग्ने ऐतिहासिक गङ्गाजमुना मेला यस वर्ष मंसिर ३ गते हुने भएको छ ।
हरिबोधनी एकादशीका अवसरमा आयोजना हुने गङ्गाजमुना मेला २०८३ मा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, लाइभ म्युजिक, सात वटै वडाबाट स्थानीय सांस्कृतिक झाँकी, महिला पञ्चेबाजा, भजन तथा अन्य विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
गङ्गाजमुना मेला धार्मिक आस्था, स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा परिचित छ । मेलामा धादिङसहित आसपासका जिल्लाबाट ठूलो संख्यामा भक्तजन तथा पर्यटक आउने गरेका छन् ।
गङ्गाजमुना क्षेत्र गणेश पर्वत शृङ्खलामा करिब १ हजार ८०० मिटर उचाइमा अवस्थित मनोरम पर्यटकीय स्थल हो । यहाँबाट धादिङका विभिन्न क्षेत्रसहित गोरखा, रसुवा, नुवाकोट, गणेश हिमाल तथा काठमाडौं आसपासका क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
गङ्गाजमुना क्षेत्र जुम्ल्याहा झरना, दैवी शक्तिसँग जोडिएका पत्थर कुण्ड तथा कुकुर धाराका कारण धार्मिक दृष्टिले समेत प्रसिद्ध छ । नेपाल सरकारले २०७७ सालमा गङ्गाजमुना क्षेत्रलाई आधिकारिक पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको थियो ।
स्थानीय जनविश्वासअनुसार कुकुर धाराको पानीमा विषनाशक गुण रहेको तथा झरनाको पानी र जडिबुटीले विभिन्न रोग निको पार्ने शक्ति रहेको मान्यता छ । झरनाको चट्टानमा गणेशको मुखजस्तो आकृति देखिने विश्वासका आधारमा दूध तथा जल चढाउने परम्परा पनि रहिआएको छ । हनुमानले संजीवनी जडिबुटी यही क्षेत्रबाट ल्याएको भन्ने धार्मिक कथनसमेत प्रचलित छ ।
गङ्गाजमुना झरनाबाट पानी अग्लो चट्टानबाट खस्दा मोतीका दानाजस्तै चम्किने दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । हिमालय पुराणमा गङ्गा र जमुनालाई दिदीबहिनीका रूपमा उल्लेख गरिएको धार्मिक विश्वाससँग समेत यस क्षेत्र जोडिएको छ ।
गङ्गाजमुना झरना पुग्न काठमाडौंसहित विभिन्न स्थानबाट सडकमार्ग हुँदै यात्रा गर्न सकिन्छ । माछापोखरीस्थित धादिङ बसपार्कबाट गङ्गाजमुना गाउँपालिका–फूलखर्कसम्म सिधा बस सेवा उपलब्ध छ । धादिङबेसी–सल्यानटार–टारीबेसी हुँदै करिब ४५ किलोमिटर सडक यात्रा गर्नुपर्ने यस मार्गको अन्तिम १५ किलोमिटर कच्ची सडक रहेको छ ।
गङ्गाजमुना मेलामा सहभागी हुने पर्यटकले धार्मिक तथा प्राकृतिक सौन्दर्यसँगै स्थानीय अर्गानिक परिकार, तामाङ तथा गुरुङ समुदायको संस्कृति र स्थानीय आतिथ्यको अनुभवसमेत लिन सक्नेछन् ।

















