हर्कपूर मावि घटना झनै चर्कदै अभिभावकको ७ दिने अल्टीमेट

Avatar photo
Dhadingpost
बुधबार, माघ २८, २०७१

harkaur copyधादिङबेसी । हर्कपूर माध्यमिक विद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठले झुटो आरोप लगाएर स्थानीय २ जना अभिभावकलाई प्रहरीमा थुनाएको भन्दै स्थानीय अभिभावक तथा विद्यालयका विद्यार्थीहरु आक्रोसित भएका छन् । बेनिघाट गाउँ विकास समिति वडा नं. ३ मा रहेको हर्कपूर माध्यमिक विद्यालयका विद्यार्थीहरुले एसएलसी परीक्षा दिन नपाउने भएपछि उत्पन्न विवादमा आफूहरुमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।
आफूमाथि आक्रमण गरेको भन्दै उजुरी परेपछि स्थानीय नवराज पाण्डे र डम्बर मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सामान्य विवादमा प्रधानाध्यापक श्रेष्ठले अन्य एक शिक्षिका र एक अभिभावकलाई समेत कुटपिट भएको भन्दै झुटो उजुरी दिएको अभिभावक तथा विद्यार्थीहरुले बताएका छन् । झुटो आरोपमा दुई अभिभावकलाई प्रहरीले पक्राउ गरेको भन्दै अन्य स्थानीयहरु समेत जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आजै प्रहरीमा रहेका दुई अभिभावक छुटाएर जिल्ला शिक्षा कार्यालय पुगेका अभिभावकहरुले जिल्ला शिक्षा अधिकारी गणेश ढकाललाई समेत भेटेर प्रधानाध्यापक पहलमान श्रेष्ठलाई कार्वाही गर्न माग गरेका छन् । उनीहरुले जसको लापर्वाहीले विद्यार्थीले एसएलसी दिन पाएनन् त्यस्ता व्यक्तिलाई अहिले सम्म कुनै कार्वाही नगरेर विद्यालयमा द्वन्द निम्त्याको भन्दै चाँडो कार्वाहि गर्न माग गरेका थिए ।
सात दिन भित्र पहलमान श्रेष्ठलाई कार्वाही र उनको शैक्षिक योग्यता माथि छानविन नगरिए थप संघर्ष गर्ने तर पहलमान श्रेष्ठलाई प्रधानाध्यापक नस्वीकार्ने समेत बताएका छन् । जिल्ला शिक्षा अधिकारी गणेश ढकालले भने विद्यार्थीहरुले एसएलसी दिन नपाउनु दुःखद् भएको र प्रधानाध्यापकको सन्दर्भमा सत्य तथ्य छानविनको रिपोर्ट ल्याउन विद्यालय निरीक्षक खेमनारायण काफ्लेलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।