माघ १२ धादिङबेसी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एबं नेपाली कांग्रेस धादिङका नेता सम्बरराज पाण्डेको निधन भएको छ । लामो समय देखि विभिन्न रोगबाट पिडीत ८७ वर्षीय नेता पाण्डको सोमबार बिहान काठमाडौंमा निधन भएको हो ।
२००३ सालमा स्थापित राष्ट्रिय कांग्रेसको स्थापनासँगै राजनीतिमा सक्रिय रहेका पाण्डेको सोमबार नै पशुपति आर्यघाटमा अन्त्यस्टी गरीएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति सुशील कोइराला पशुपति आर्यघाट पुगी पाण्डेको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए ।
अन्त्यस्टीमा कांग्रेस महामन्त्रीद्वाय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका कांग्रेस नेता तथा कार्यकर्ता उपस्थीत थिए । २००७ सालको जनक्रान्तिमा सक्रिय सहभागि रहेका पाण्डे २०१४ को भद्र अवज्ञा आन्दोलनका साथै २०१७ पछि पञ्चायत बिरोधी आन्दोलन, २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६को जनआन्दोलन देखि २०६२-२०६३ को जन आन्दोलनमा निरन्तर सक्रिय थिए । पार्टी नेता एबं प्रजातान्त्रिक आन्दोलनका योद्धा पाण्डेको निधनप्रति धादिङ कांग्रेसले दुख व्यक्त गरेको छ ।
धादिङ कांग्रेस सभापति रामनाथ अधिकारीले सोमबार नै शोक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक आनदोलनमा पाण्डेले पु¥याएको योगदान स्मरणीय रहेको जनाएका छन् ।
पाण्डेको सम्मानमा धादिङ कांग्रेसले तीनसम्म आधा झन्डा झकाउनुको साथै कार्यालय बन्द गर्ने जनाएको छ । पाण्डेले २०३७ देखि २०४७सम्म धादिङ कांग्रेसको सचिवको जिम्मेवारी सम्हालेका थिए ।