मेगा बैंकको डेढकरोड झ्वाम् पार्ने धादिङका ३ यूवा

Avatar photo
Dhadingpost
शनिबार, माघ १०, २०७१

नवराज मैनाली ।
मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ । अभियुक्तहरूले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट प्रहरीले उक्त रकम बरामद गरेको हो ।

घटनाको एक वर्षपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी मेगा बैंक ठगी प्रकरणको रहस्य बाहिर ल्याउन सफल भएको छ । महानगरीय अपराध महाशाखाले गहन अनुसन्धान गर्दा बैंककै कर्मचारीको मिलेमतोमा उक्त ठगी भएको खुलेको छ । महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार बैंकको कान्तिपथ शाखाका प्रबन्धक शम्भु थापा र धादिङ शाखाका पूर्वप्रबन्धक राजेन्द्र पाण्डेको योजना र मिलेमतोमा उक्त ठगी भएको हो ।

महानगरीय अपराध महाशाखाले कान्तिपथ शाखाका प्रबन्धक थापासहित तीनजनालाई शुक्रबार सार्वजनिक गरेको छ । घटनाका अन्य दुई मुख्य योजनाकार पाण्डेका भाइहरू प्रवीण पाण्डे र प्रदीप पाण्डे छन् । मुख्य योजनाकार राजेन्द्र भने विदेशमा रहेको एसएसपी कार्कीले बताए । घटनालगत्तै उनी क्यानडा जान्छु भनेर जापान गएका थिए ।
m
धादिङको सलाङस्थित राजेन्द्रकै गाउँमा एक करोड ४० लाख रुपैयाँ गाडिएको अवस्थामा भेटिएको हो । उक्त रकममध्ये १० लाख १५ हजार पाँच सय रुपैयाँ धमिरा लागेको र बाँकी पैसा कुहिएको अवस्थामा भेटिएको महाशाखाका डिएसपी वसन्त रजौरेले बताए । प्रहरीले बिहीबार बारी खनेर पैसा निकालेको थियो । घरको खोपीभित्र लुकाएको पैसा धमिराले खाएको अवस्थामा तथा बारीमा लुकाएको पैसा कुहिएको अवस्थामा फेला परेको हो ।

‘एक वर्षपछि मात्र उक्त पैसा चलाउनु नत्र पत्ता लाग्छ भनेर राजेन्द्रले भनेकाले उनीहरूले लुकाएर राखेका रहेछन्,’ डिएसपी रजौरेले भने, ‘प्रहरीले पत्ता लगाएर खानतलासी गर्न आउन सक्ने भएकाले उनीहरूले जमिनमा गाडेर राखेका थिए ।’
mm
टुरिजम बैंकको मेगा बैंकमा रहेको ००१००६०३५८३८६ खाताबाट गत वर्ष दुई करोड नौ लाख ९० हजार रुपैयाँ हराएको थियो । गत वर्ष माघ १२ गते मेगा बैंकको नयाँ सडक शाखाबाट नौ लाख ९० हजार र माघ १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट दुई करोड रुपैयाँ गरी जम्मा दुई करोड नौ लाख ९० हजार रुपैयाँ क्लियरिङको माध्यमबाट जम्मा गरी ठगी भएको थियो । एक वर्षसम्म घटना रहस्यमै थियो । प्रहरीले गत साता बैंककबाट सञ्जय ढकाललाई पक्राउ गरी नेपाल ल्याएर अनुसन्धान गर्दा वास्तविकता खुलेको हो । ढकालको खातामा चेक जम्मा भएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । तर, उनको नागरिकता दुरुपयोग गरेर मेगा बैंकका शाखा प्रबन्धक थापाले नै बदमासी गरेको खुलेको छ ।

यसरी भयो घटना
घटनाको सुरुवात गत वर्ष ९ मंसिरबाट भएको थियो । उक्त दिन मेगा बैंकको कान्तिपथ शाखाबाट अनधिकृत रूपमा टुरिजम डेभलपमेन्ट बैंकको नामका १० वटा चेक जारी भएका थिए । चेक जारी गर्दा ‘चेक रिक्विजिसन फर्म’मा प्रयोग भएको टुरिजम बैंकको छाप र दस्तखत सनाखत नगरिएको प्रहरीको भनाइ छ । उक्त फर्ममा दस्तखतसमेत नगरिएको अनुसन्धानमा खुलेको छ ।

आफूलाई टुरिजम बैंकको कर्मचारी बताएर प्रवीण पाण्डेले चेक लिएर गएका थिए । चेक रिक्विजिसन फर्ममा रजत तोदीको नाम भए पनि राकेश सिलवालको नाममा नक्कली परिचयपत्र बनाई चेक बुझिलिइएको थियो । उक्त फर्ममाथि शंका लागी चेक दिन बैंकका कर्मचारीले आनाकानी गर्दा बैंकका म्यानेजर शम्भुबहादुर थापाले चेक दिन निर्देशन दिएका थिए ।

ठीक एक महिनापछि ९ पुसमा वाणिज्य बैंकको टेकु शाखामा रजत तोदीको नामबाट १७०००१२६३८१० नं. को खाता खोलिएको थियो । पाण्डेले आफूलाई तोदी बताएर नक्कली कागजपत्रका आधारमा खाता खोलेका थिए ।

त्यस्तै १२ माघमा वाणिज्य बैंकको शाखा कार्यालय भोटाहिटीमा सञ्जय ढकालको नामबाट १३६००३०७५२१० अर्काे खाता खोलिएको थियो । राजेन्द्रका भाइ प्रवीण पाण्डेले आफूलाई सञ्जय ढकाल बताएर उक्त खाता खोलेका थिए । सञ्जयको नामका कागजपत्र मेगा बैंकबाट लिइएको थियो ।

दुईवटा खाता खोलिएपछि टुरिजम बैंकको नाममा लिइएको चेकमा बैंकका पूर्वसिइओको हस्ताक्षर गर्दै ती खातामा उनीहरूले पैसा जम्मा गर्न थालेका थिए ।

१२ माघमा सञ्जय ढकालको नामबाट प्रवीण पाण्डेले मेगा बैंकको न्युरोड शाखाबाट टुरिजम बैंकका तत्कालीन सिइओ मनोज खड्का र मोहनप्रसाद पाण्डेको दस्तखत किर्ते गरी नौ लाख ९० हजार भुक्तानी लिएका थिए । भोलिपल्ट ढकालको भोटाहिटी शाखाको खातामा चेक क्लियरिङका माध्यमबाट दुई करोड रुपैयाँ जम्मा भएको थियो ।

पैसा जम्मा भएपछि सञ्जय ढकालको नामबाट विभिन्न व्यक्तिका नाममा चेक काटिएका थिए । त्यसरी एक करोड ४१ लाख ९० हजार रुपैयाँ निकाल्न उनीहरू सफल भएका थिए । उनीहरूले महाराजगन्ज शाखाबाट १९ माघ ०७० मा ३० लाख र २० माघमा ३१ लाख निकालेका थिए । उक्त रकम रजत तोदीको खाता नं. १७००१२६३८१० मा जम्मा भएको र हालसम्म पनि उक्त रकमको भुक्तानी लिन कोही नआएको प्रहरीले जनाएको छ । ढकालको खातामा सात लाख एक हजार अझै मौज्दात छ ।

पछिल्लोपटक प्रहरीले गम्भीरताका साथ उक्त घटनाको अनुसन्धान थालेपछि पैसा जम्मा भएको खाताका धनी सञ्जय ढकाल नाम गरेका व्यक्तिको खोजी सुरु गरेको थियो । त्यस क्रममा उनी बैंककमा रहेको खुल्यो । नेपाल प्रहरीले गत साता उनलाई बैंककबाटै पक्राउ गरेर नेपाल ल्यायो । उनलाई त्यहाँबाट निष्कासन गर्न लगाएर नेपाल ल्याइएको थियो । उनीमाथि अनुसन्धान गर्दा वास्तविक ठगहरू पक्राउ परेको एसएसपी कार्कीले बताए ।

प्रहरीले सिसिटीभी फुटेजलाई पनि अनुसन्धानको आधार बनाएको थियो । टेकु शाखामा तोदीको नाममा खाता खोल्न जाने व्यक्ति राजेन्द्र पाण्डे भएको खुलेपछि प्रहरीको अनुसन्धान सफल भएको हो । खातामा पैसा जम्मा भएपछि भोटाहिटी शाखा र मेगा बैंक न्युरोड शाखाबाट रकम निकाल्न प्रवीण पाण्डे र प्रदीप पाण्डे गएका थिए । बैंकबाट निकालिएको रकम धादिङस्थित घरमा लुकाइएको थियो ।

तीनैवटा बैंकको लापरबाही
प्रहरीका अनुसार उक्त घटनामा मेगा बैंक, टुरिजम बैंक र राष्ट्रिय वाणिज्य बैंक तीनैवटाको गल्ती देखिएको छ । टुरिजम बैंकले आफ्ना सिइओ रेवन्त दाहालले बैंक छाडेको ६ महिना बित्दा पनि त्यसबारे मेगा बैंकलाई औपचारिक रूपमा जानकारी गराएको थिएन । मेगा बैंकमा रहेको आफ्नो खाताको कारोबारबारे समेत उसले वेला–वेला चेक नगरेको पाइएको छ ।

बैंककै कर्मचारी नियतवश संलग्न भएकाले मुख्य गल्ती मेगा बैंकको नै भएको प्रहरीको भनाइ छ । अनधिकृत रूपमा चेक दिनु नै मेगा बैंकको ठुलो गल्ती भएको र त्यहीँबाट अपराध सुरु भएको एसएसपी कार्की बताउँछन् । चेक माग गर्दा भरिने फर्ममा प्रयोग भएको व्यक्तिको नाम, बैंक छाप, बैंकले प्रदान गरेको खातावालाको आधिकारिक दस्तखत नमुना नियमअनुसार सनाखतसमेत गरिएको थिएन । मेगा बैंकका सम्बन्धित कर्मचारीले उक्त फर्ममा दस्तखतसमेत गरेका थिएनन् । फर्ममा उल्लिखित व्यक्तिको नाम, उनीहरूको परिचयपत्र तथा चेक बुझ्दा रजिस्टरमा गरेका दस्तखतमा फरक–फरक नाम पर्दासमेत उनीहरूले पत्ता लगाएका थिएनन् ।

सञ्जय ढकालको नाममा काटिएको दुई करोडको चेक इलेक्ट्रोनिक चेक क्लियरिङको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखाबाट क्लियरिङ डिपार्टमेन्टमा कन्फर्मेसन आए पनि बैंक म्यानेजरले कुनै रेस्पोन्स गरेका थिएनन् । दुई करोडको चेक व्यक्तिको नाममा काटिएको देखिँदा त्यस विषयमा टुरिजम बैंकसँग त्यसको आधिकारिकताबारे बुझ्ने प्रयाससमेत नभएको प्रहरीको भनाइ छ ।

त्यस्तै मेगा बैंकको न्युरोड शाखाको सिसिटिभी तीन दिनदेखि बिग्रदासमेत त्यस विषयमा ध्यान दिइएको थिएन । त्यस्तै बैंंकका धादिङ शाखाका प्रबन्धक राजेन्द्र पौडेलको भिडियो मेगा बैंकका कर्मचारीलाई देखाउँदा नचिनेको बताएर सबैले ढाँटेकोसमेत प्रहरीले जनाएको छ ।

यो प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकको पनि लापरबाही रहेको प्रहरीले जनाएको छ । वाणिज्य बैंकको भोटाहिटी शाखामा सञ्जय ढकालको नाममा तथा टेकु शाखामा रजत तोदीको नाममा नयाँ खाता खोल्दा पेस गरिएका कागजातहरू प्रमाणित गरिएका थिएनन् । दुई करोडको चेक भोटाहिटी शाखामा जम्मा हुँदाको अवस्थामा चेकमा चेक राइटरद्वारा दुई करोड लेखिएको तर अकाउन्टपेयी भनेर हस्तलिखित हुँदा शंका नगरी मेगा बैंकमा भुक्तानी प्रक्रियाका लागि पठाइएको थियो । त्यस्तै महाराजगन्ज शाखाबाट सबिना खनाल र आयुष झाका नाममा काटिएको जम्मा नौ लाखको चेकको भुक्तानी प्रवीण पाण्डेले रामप्रसाद बम्जन र एकबहादुर थापाको नागरिकताको प्रतिलिपि पेस गर्दासमेत बैंकले भेरिफाई नगरी भुक्तानी दिएको खुलेको छ । साभारः नयाँपत्रिका दैनिक