केवलपुर हरिहर भोजकुमारी माविले पदक विजेता विद्यार्थी खेलाडीलाई सम्मान

Avatar photo
Dhadingpost
साउन ३, २०८३

धादिङ । धादिङस्थित केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयले जिल्ला तथा प्रदेशस्तरीय विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने तथा तेक्वान्दोमा ब्ल्याक बेल्ट ग्रेड प्राप्त गरेका आफ्ना विद्यार्थी खेलाडीलाई सम्मान गरेको छ ।

डोजाङ प्रमुख एवम् धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष बिदुर बास्कोटाका अनुसार विद्यालयले खेलकुदमार्फत विद्यालयको प्रतिष्ठा बढाउने विद्यार्थीहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा खेलाडीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा सम्बन्धित गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले विद्यालयलाई तेक्वान्दो प्रशिक्षणका लागि आवश्यक खेल सामग्री हस्तान्तरण गरेका थिए । उनले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीलाई खेलसँगै अध्ययनमा पनि उत्कृष्ट बन्न प्रेरित गरे ।

विद्यालय प्रशासनले आगामी दिनमा पनि खेल प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। तेक्वान्दोसहित अन्य खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र पूर्वाधार विस्तारमा जोड दिइने पनि विद्यालयले जनाएको छ ।