
धादिङ । धादिङको खनियाबास गाउँपालिका–३, कुरीस्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा साउन १ गते छैटौं संस्करणको पौडी प्रतियोगिता सम्पन्न भएको छ ।
ल्याक्चे कुण्ड संरक्षण समाज, खनियाबास–३, कुरीको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि कुण्डको संरक्षण, प्रचारप्रसार तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
स्थानीय कपिल तामाङका अनुसार प्रतियोगितामा विभिन्न उमेर समूहका २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
प्रतियोगिताको नतिजा
१०–१५ वर्ष उमेर समूह (६ जना सहभागी)
- प्रथम : सविन तामाङ
- द्वितीय : संजय तामाङ
- तृतीय : योञ्जन तामाङ
१५–२० वर्ष उमेर समूह (८ जना सहभागी)
- प्रथम : विवेक तामाङ
- द्वितीय : शिरिष तामाङ
- तृतीय : बरदान गुरुङ
२०–२५ वर्ष उमेर समूह (५ जना सहभागी)
- प्रथम : सरुन तामाङ
- द्वितीय : लेकमान तामाङ
२५ वर्षमाथि (५ जना सहभागी)
- प्रथम : परशुराम तामाङ
- द्वितीय : रिदम तामाङ
- तृतीय : विक्रम तामाङ
ऐतिहासिक र धार्मिक महत्व बोकेको ल्याक्चे कुण्ड
स्थानीयका अनुसार ल्याक्चे कुण्ड अत्यन्तै पुरानो तथा ऐतिहासिक जलाशय हो। जनविश्वासअनुसार यो कुण्ड संसारको सृष्टिसँगै अस्तित्वमा आएको मानिन्छ ।
किम्बदन्तीअनुसार विगतमा कुण्ड निकै गहिरो थियो। माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि यसको धेरै भाग पुरिएको विश्वास गरिन्छ।
स्थानीय भाषामा ‘ल्याक्चे’ (वा लक्चे) नामले चिनिने एक प्रकारको लहरामा फल्ने फलको नामबाट नै यस कुण्डको नाम ल्याक्चे कुण्ड रहन गएको हुन सक्ने स्थानीयको भनाइ छ ।
हरेक वर्ष ठूलो एकादशीका अवसरमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ। मेलामा बोन धर्मावलम्बी (स्थानीय भाषामा झाँक्री) हरू अर्थली, कुरी, झार्लाङ लगायतका क्षेत्रबाट पूजा–आराधना गर्न आउने परम्परा रहिआएको छ ।
कुण्ड वरपर विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पानीमाथि खेलिरहेको मनमोहक दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
जाडोमा पनि तातो पानीको मुहान
स्थानीयका अनुसार कार्तिक महिनासम्म कुण्डमा प्रशस्त पानी रहने गर्दछ। सोही पानी स्थानीयले नुहाउने तथा दैनिक प्रयोगका लागि उपयोग गर्दै आएका छन् ।
कुण्डभन्दा केही माथि रहेको प्राकृतिक मुहानको पानी भने जाडोयाममा समेत तातो रहने विशेषता रहेको बताइन्छ । विगतमा यस क्षेत्रमा नियमित हिमपात हुने गरे पनि पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिमपात घट्दै गएको स्थानीयको अनुभव छ ।
पर्यटक आकर्षण बन्दै ल्याक्चे कुण्ड
पौडी प्रतियोगिताका अवसरमा हरेक वर्ष स्थानीयवासीसँगै धादिङ, नुवाकोट, काठमाडौं लगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन्। प्रतियोगिताले प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय संस्कृतिको प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।
कसरी पुग्ने ?
धादिङबेसीबाट जीपमार्फत करिब ४ घण्टामा ल्याक्चे कुण्ड पुग्न सकिन्छ। त्यस्तै काठमाडौंबाट नुवाकोट–त्रिशूली हुँदै यात्रुवाहक बसमार्फत करिब ९ घण्टामा कुरी पुगेर त्यहाँबाट कुण्डसम्म सहजै पुग्न सकिन्छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, चिसो मौसम, तातो पानीको प्राकृतिक मुहान र ऐतिहासिक महत्वले भरिएको ल्याक्चे कुण्ड पछिल्लो समय धादिङको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।
