विश्वकप २०२६: स्पेनलाई फाइनलमा पुर्‍याएका लामिन यामालले भने– ‘मेस्सीबाट धेरै सिकें’

Avatar photo
Dhadingpost
साउन १, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका युवा स्टार लामिन यामाल ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी लाई इतिहासकै सर्वश्रेष्ठ फुटबलर भन्दै आफूले उनको खेलबाट धेरै कुरा सिकेको बताएका छन् ।

बार्सिलोनाका युवा विंगर यामालले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा आफू सानैदेखि मेस्सीका खेलहरू हेरेर हुर्किएको र विशेषगरी उनको पासिङ, खेल बुझ्ने क्षमता (भिजन) र सही समयमा निर्णय गर्ने शैली बाट प्रेरित भएको बताएका छन् । उनका अनुसार मेस्सीका गोल मात्र होइन, खेललाई नियन्त्रण गर्ने तरिका नै सिक्नलायक रहेको छ ।

यामालले भनेका छन्, “हरेक खेलसँगै मेस्सी इतिहासकै उत्कृष्ट हुन् भन्ने कुरा थप प्रमाणित हुँदै जान्छ । यदि कसैले अझै पनि त्यसमा शंका गर्छ भने त्यो शंका गर्ने प्रयास मात्र हो ।”

उनले मेस्सीलाई इतिहासकै उत्कृष्ट फुटबलरको संज्ञा दिए पनि आफ्ना बाल्यकालका आदर्श भने ब्राजिली स्टार नेयमार रहेको खुलासा गरेका छन् । “मेरो बाल्यकालको आइडल नेयमार थिए, तर मेस्सी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन्,” यामालको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई फाइनलमा पुर्‍याएका यामालले अब अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तलाई आफ्नो करियरकै सबैभन्दा ठूलो चुनौतीका रूपमा लिएका छन् । विश्व फुटबलका महान खेलाडी मेस्सीविरुद्ध विश्वकप फाइनल खेल्न पाउनु आफ्ना लागि विशेष अवसर हुने उनले बताएका छन् ।

यामालले अवसर मिले फाइनलपछि मेस्सीसँग जर्सी साट्ने इच्छा पनि व्यक्त गरेका छन् । उनका अनुसार बाल्यकालदेखि आदर्श मानेका खेलाडीसँग विश्वकपको फाइनल खेल्नु र त्यसपछि जर्सी साट्नु अविस्मरणीय क्षण हुनेछ ।

यता, पछिल्लो समय यामालको असाधारण प्रदर्शनपछि धेरै फुटबल समर्थक र विश्लेषकहरूले उनलाई ‘नयाँ मेस्सी’ को संज्ञा दिन थालेका छन् । तर यामालले भने आफूलाई मेस्सीसँग तुलना गर्न नहुने बताउँदै आफ्नै पहिचान बनाउन चाहेको स्पष्ट पारेका छन् ।

“मेस्सीसँग तुलना हुनु गर्वको कुरा हो, तर म आफ्नै खेल शैली र पहिचान बनाउन चाहन्छु,” उनले भनेका छन् ।

अब विश्वकप २०२६ को फाइनलमा एकातिर स्पेनका युवा स्टार लामिन यामाल हुनेछन् भने अर्कोतर्फ अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान खेलाडी लियोनेल मेस्सी । दुई पुस्ताका असाधारण प्रतिभाबीच हुने यो प्रतिस्पर्धालाई विश्व फुटबलकै ऐतिहासिक फाइनलका रूपमा हेरिएको छ ।