
धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२, ताल्तीस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा विद्यार्थी छात्रावासका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न राेटरी क्लब अफ धादिङले करिब ४६ लाख रुपैयाँ सहयोग गरेकाे छ ।
यस सम्बन्धमा विद्यालय र सहयोगी संस्थाबीच सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । रोटरी क्लब अफ धादिङका प्रशासन संयोजक तथा निर्देशक भीमबहादुर श्रेष्ठका अनुसार छात्रावास भवन निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ ।
विद्यालयका प्रधानाध्यापक र रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कँडेलबीच सहमति पत्रमा हस्ताक्षर भइसकेको तथा अब छिट्टै निर्माण कार्य सुरु हुने श्रेष्ठले जानकारी दिए ।
रोटरी क्लब अफ धादिङले विगत १० वर्षदेखि जिल्लामा शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । क्लबले विद्यालय, स्वास्थ्य संस्था तथा समुदाय लक्षित विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
