धादिङवासीलाई प्रचण्डले सम्बोधन गरे, संविधान निर्माण प्रयास जारी छ

Avatar photo
Dhadingpost
बिहिबार, पुस १७, २०७१

Prachandaधादिङवेसी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणमा सहमतिको सम्भावना कायमै रहेको बताउनुभएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङद्धारा आयोजित मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सवको समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । आफू संविधानसभा भवनबाट सिधै धादिङवेसी आएको प्रसंग निकाल्नुहुँदै अध्यक्ष प्रचण्डले शान्ति र संविधान निर्माण गर्ने चिन्ता एकीकृत माओवादीलाई नै बढी भएको बताउनुभयो ।

आगामी माघ –८ गते नै संविधान जारी गर्ने भन्नेमो कोही कसैको विमती नरहेको प्रष्ट्याउनुहुँदै अध्यक्ष प्रचण्डले जनपक्षिय संविधान जारी गर्ने कुरामा गम्भीर छलफल भईरहेको बताउनुभयो । कतिवटा प्रदेश वनाउने भन्नेमा कुरा अड्केको नभई कस्तो वनाउने भन्नेमा छलफल भएको हो उहाँको भनाई थियो । माघ ८ गते जारी गरेको संविधान माघ ९ गतेबाट जलाउने र जात जाति क्षेत्रले आन्दोलन थाल्नेगरी जान नहुने भन्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका प्रमुख पक्षहरुविच समझदारी गरेर जानु आवश्यक रहेको बताउनुभयो उहाँले भन्नुभयो– सय प्रतिशतले मान्छन् भन्ने छैन तर, शान्ति सम्झौताका प्रमुख पक्षहरुविच मोटामोटी सहमति भने गरेर जानु राम्रो हुने भएकाले छलफल भईरहेको छ । संविधानसभाबाट संविधान निर्माण गर्ने एजेण्डा एकीकृत माओवादीकै भएकाले एमाओवादीले संविधान निर्माण गर्न भरपुर प्रयास गरिरहेको उहाँले प्रष्ट्याउनुभएको थियो ।
नेपाली जनताको शान्ति र संविधानकै लागि आफूहरुले जोखिम मोलेरै भए पनि एउटा प्रक्रियामा आएको उहाँको भनाई थियो । धादिङका दुईवटा उद्योग वाणिज्य संघको मेलमिलापले जिल्लाको पहिचान बनाएको समेत उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो– उद्योगी व्यवसायीहरुको मेलमिलापले धादिङको विकासमा सहयोग भएको छ ।

देशैभरीका सिमित आयोजनाहरुमध्ये धादिङमा र गोरखामा निर्माण हुने भनिएको बुढीगण्डकी जलाशययुक्त आयोजनाले जिल्ला, क्षेत्र र देशैको आर्थिक विकासमा सहयोग गर्ने भएकोले आफूहरुले पनि उक्त आयोजनालाई महत्वपूर्ण आयोजनाको रुपमा हेरेको बताउनुभयो । धादिङ जिल्ला कृषि, पर्यटन, जलविद्युतका हिसावले निकै महत्वपूर्ण भएकाले सबै ब्यवसायीहरुलाई एक भएर लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको महोत्सवमा १ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको र १० करोडभन्दा बढीको कारोबार भएको महोत्सव मुल आयोजक समितिका सचिवालय प्रमुख रोहित भण्डारीले जानकारी दिनुभयो
महोत्सवमा अन्य व्यापारिक प्रदर्शनीमा भन्दा साँस्कृतिक कार्यक्रमका साथै रमाईलो मेला, मिनी चिडियाघर लगायतका प्रदर्शनीहरु भव्यताका साथ गरिएको थियो ।