आमसञ्चार प्रतिष्ठान स्थापना गरिदै

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ४, २०७१

पुस ४ । नेपाल पत्रकार महासंघ र नेपाल सरकारको सहकार्यमा चाँडै नै राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गरिने भएको छ । नेपाली पत्रकारहरूलाई प्राज्ञिक तहको व्यावसायिक प्रशिक्षणका लागि प्रतिष्ठान बनाउन लागिएको हो । महासंघका केन्द्रीय कार्यालयमा आज सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसहितका पदाधिकारीहरूबीच यस विषयमा छलफल भएको छ । मन्त्री रिजालले प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाउने र प्रतिष्ठान सञ्चालनको लागि प्रस्तावित स्थल महासंघ भवनको माथिल्लो तला अवलोकन पनि गर्नुभएको थियो । कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष विष्टले प्रस्तुत गर्नुभएको श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, बीमालगायत पत्रकारको सामाजिक सुरक्षा, मिडिया नीति, मिडिया उद्योगको विकास, सम्पादकीय स्वतन्त्रता, संविधान निर्माणलगायका विषयमा पनि छलफल भएको छ । मन्त्री रिजालले पत्रकार पत्रकारिताको हित एवं माघ ८ गते भित्रै संविधान निर्माणका लागि पहल भइहेको जानकारी गराउनु भएको थियो ।