मानव झण्डाको कृतिमानी खोसिने खतरा

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २५, २०७१

नेपालले बनाएको सबैभन्दा ठूलो मानव झण्डाले गिनिज बुक अफ दि वल्र्ड रेकर्डबाट मान्यता नपाउँदै भारतले सम्भावित ‘किर्तिमान’ खोसिदिने खतरा बढेको छ ।

गत भदौ ७ गते टुँडिखेलमा झण्डै ३५ हजार मानिस मिलेर नेपालको राष्ट्रिय झण्डा बनाएका थिए । तर, गिनिज बुक अफ दि वल्र्ड रेकर्डले अझै यसलाई औपचारिक रुपमा विश्व किर्तिमानको मान्यता दिएको छैन । हालसम्म औपचारिक रुपमा २८ हजार ९ सय ५७ ले लाहोरमा बनाएको पाकिस्तानको मानव झण्डालाई नै मान्यता दिइएको छ । तर, आइतबार भारतको चेन्नइमा झण्डै ५० हजारले भारतको मानव झण्डा बनाएका छन् । मेरो झण्डा मेरो इण्डिया अभियान अन्तर्गत ५० हजार मानिस बाइएमसीए मैदानमा भेला भएर भारतको झण्डा बनाएका छन् ।

५० हजार भारतीय नागरिकले चन्नेइमा बनाएको भारतको मानव झण्डा भारतीय सञ्चार माध्यमहरुका अनुसार झण्डा बनाउने समारोहको प्रत्यक्ष अवलोकन गर्न गिनिज बुकका प्रतिनिधि समेत कार्यक्रममा उपस्थित थिए । नेपालको मानव झण्डा निर्माण कार्यक्रममा भने गिनिज बुकका प्रतिनिधि उपस्थित थिएनन् । नेपाली मानवझण्डा निर्माणका आयोजकहरुले भिडियो खिचेर गिनिज बुकलाई पठाइएको जानकारी दिँदै भिडियो हेरेर मान्छे गनेपछि मात्र औपचारिक नतिजा आउने बताएका छन् ।