सिरियाली अधिकारकर्मीको रिहाईको माग

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

बेरुत । दमासकसनजिकै एक वर्ष अगाडि अपहरणमा परेका चार अधिकारकर्मीको रिहाईको माग गर्दै ५० भन्दा बढी सिरियाली र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठनले मङ्गलबार संयुक्त अपिल गरेका छन् ।
सन् २०१३ को डिसेम्बर ९ मा दमासकसनजिकैको विद्रोही बलियो प्रभाव रहेको दोउमाबाट रजान जेइटोयनेह, वाएल हमादा, समिरा आलिल र नजेम अल हामादी अपहरणमा परेका थिए ।
यस अपरहरणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैनन् । ती चार अपहरणमा परेपछि कसैले पनि उनीसँग कुनै प्रकारको सम्पर्क गर्न सकेका छैनन् ।
अपहरणमा परेका ती चारेै जना विद्रोहीको नियन्त्रणमा रहेका जनाइएको छ । अपहरणमा पर्नु अगाडि जेइटोयनेहलाई भने शासन र विद्रोही दुवै पक्षबाट धम्की आएको बताइएको छ ।
सिरिया सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनपछि गृहयुद्धमा परिणत भएको थियो ।
सोही बेलादेखि हालसम्म भएका यस द्वन्द्वमा परी दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी यस द्वन्द्वमा परी लाखौ घाइते भएका छन् । यसैबीच लाखौं सिरियाली जनता शरणर्थीको रुपमा छिमेकी राष्ट्रमा पुगेका छन् । रासस /’एएफपी