धादिङका वन प्रमुखज्यू, ‘वनक्षेत्रमा बनेका पहुँचवालाका भवनहरु कहिले भत्काउने ?’

Avatar photo
Dhadingpost
साउन २०, २०७३

नारायण सिलवाल

धादिङ, २० साउन । वर्षायाम, त्यसमाथि पनि साउनको महिना, सोमबारको दिन अलि घुर्माइलो नै थियो । बिहान हल्का वर्षा पनि भयो । अन्तत: विस्तारै आकाश खुल्न थाल्यो ।

आजभोलि जब आकाशमा बादल लाग्छ, तब गाउँका गरीब किसानहरुको मनमा पनि चिसो पस्छ । भूकम्पले टहरामा पुर्‍याएका प्राय: किसानहरु अझै स्थायी बासस्थानमा फर्किन सकेका छैनन् । घर बनाउनलाई राज्यले पैसा देला भनेर कुरेको पनि डेढवर्ष बितिसक्यो । बादल लाग्दा फेरि पानी पर्ने र बसोबास नै कष्टकर हुने डरले कृषकहरुको मनमा एक किसिमको डर पैदा हुन्छ । जब मौसम खुल्छ, अनि विस्तारै मन पनि खुल्न थाल्छ ।

सोमबार पनि यस्तै भयो । मौसम खुलेसँगै कुम्पुर-४, खरमटारका कृषकहरुको मन पनि विस्तारै खुल्दै थियो । यत्तिकैमा एक हुल सुकिला-मुकिला मान्छेहरु गाउँ पसे, अनि भर्खरै चमरा लाग्न थालेको मकै र लहलहाउँदा तिलका बोटहरु लुछ्न थाले ।

सुरुमा त कृषकहरु हेरेकोहेर्‍यै भए । के भइरहेको छ भन्ने पनि ठम्याउन गाह्रो पर्‍यो । अनि बल्ल थाहा पाए तिनीहरु त जिल्ला वन कार्यालय धादिङबाट गएका कर्मचारीहरु पो रहेछन् । स्थानीय लामकानदेवी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरेर बाली लगाइएको भन्दै यसरी नष्ट गरिएको रहेछ ।

वन क्षेत्र अतिक्रमण गरेर कृषकहरुले गल्ति अवश्य गरेका हुन् । वन संरक्षको दायित्व पाएको वन कार्यालयले यति गर्ने अधिकार पनि राख्छ । त्यसैले फर्काउने जवाफ कृषकहरुसँग केही थिएन । तर, लहलहाउँदो बाली नष्ट गरेको देख्दा, अनि आफ्नो पसिना माटोमा मिल्दा उनीहरुको मन कम्ति रोएन । कम्तिमा पनि लगाएको बाली भित्र्याउन दिएको भए हुन्थ्यो, उनीहरुको अपेक्षा यत्ति मात्र थियो ।

‘हामीले सो जग्गा पाउनैपर्छ भनेर भनेनौँ, तर कम्तिमा पनि मुखमा आउनै लागेको बाली भित्र्याउन दिएको भए के बिग्रिन्थ्यो ?,’ मलिनो अनुहार बनाउँदै एक कृषकले धादिङ पोस्टसँग भने, ‘मकै जुँगा-चमरा हुन थालेको थियो, तिल फूल खेल्दै थियो, यस्तो अवस्थाको बाली नष्ट गर्नेको कहिल्यै भलो हुने छैन ।‘

त्यो क्षण सम्झेर भावुक बनेका उनी रोकिएनन् । ‘सानालाई त हो नि नियम लाग्ने,’ आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गरेका उनी बोल्दै गए, ‘सक्नेले त आफ्नो नाकैअघि (धादिङबेसी पुच्छारबजारबाट टारीबेसीतर्फ जाने सडक रहेको सामुदायिक वन क्षेत्रमा) बनेका पहुँचवालाहरुको भवन पनि भत्काउनु नि !‘

उनको आवाज थप जोशिलो बन्दैगयो, ‘सामुदायिक वन अतिक्रमण गरेर रेडियो धादिङ र केही एनजिओहरुले बनाएको भवन पनि भत्काउन सक्छन् त यिनीहरुले ! कहाँ सक्नु, बनेको भवन हेरेर धन्यावाद दिएर बस्छन् ।‘

 

सानालाई ऐन, ठूलालाई चैन !

वन क्षेत्रमा बनेको रेडियो धादिङ, १०६ मेगाहर्जको भवन


अब ति कृषकले उल्लेख गरेको प्रसंगतर्फ जाउँ । धादिङबेसी पुच्छारबजार पारीको क्षेत्र पनि सामुदायिक वनको हो । त्यहाँ रेडियो धादिङ, सेफ हाउस, योगा आश्रम र क्रियापूत्री भवन सामुदायिक वन क्षेत्रमा नै बनाइएको छ । अरु केही भवन बन्ने तयारीमा छन् ।

बन क्षेत्रमा नै बनेको सेफ हाउस 


धादिङबेसी आसपासका सामुदायिक वनका अध्यक्षहरुले पहुँचवाला र आफ्नो नजिकका मान्छेका संघ-संस्थालाई मनोमानी ढंगले घर-घडेरी वितरण गरेका छन् ।

यस विषयमा हामीले जिल्ला वन कार्यालयका प्रमुख इमनाथ पौडेललाई जिज्ञासा राख्यौँ ।

उनको जवाफ यस्तो आयो, ‘सामुदायिक वनहरुले आफ्नै लागि त जथाभावी भवन बनाउन पाउँदैनन् । अझ अरुलाई भवन निर्माण गर्न दिने अधिकार त हुँदै हुँदैन नि ! उजुरी परेको खण्डमा जिल्ला वन कार्यालयले छानविन गरेर सामुदायिक वनको जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्छ ।’

तर, मनलाग्दी घडेरी वितरण भइरहेको कुरासँग जिल्ला वन कार्यालय धादिङ अनविज्ञ भने पक्कै पनि छैन । यसरी घडेरी पाउनेहरु कोही मिडिया, त कोही ठूलाबडा मानिसहरु भएकाले सबै चुपचाप छन् ।

 

सबैलाई कारबाही हुनुपर्छ

वन क्षेत्रको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । यस्ता सामुदायिक वनहरु सबैको साझा सम्पत्ति हुन् । त्यसैले यसको अतिक्रमण गर्ने सबैलाई बराबर कारबाही हुनुपर्छ ।

यहाँ न त गरीबीको बहाना देखाएर कृषकहरुले वन फँडानीको छुट पाउनुहुन्छ, न त पहुँचवालाहरुले नै । जिल्ला वन कार्यालयले कुम्पुरमा त कारबाही गर्‍यो । के पहुँचवालाहरुको भवन पनि भत्काउने हिम्मत राख्ला ?

कि नियम लाग्ने सानालाई मात्रै हो ? सम्बन्धित निकायको समयमै ध्यान जाओस् ।