
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मङ्सिर २६ देखि २८ गतेसम्म स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सञ्चालन हुने भएको छ ।
गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय, सल्यानटारले मङ्सिर १० गते जारी गरेको सूचनाअनुसार प्रतियोगिता सल्यानटार माध्यमिक विद्यालय, त्रिपुरासुन्दरी–२ मा सञ्चालन हुनेछ ।
माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको मङ्सिर १० गते बसेको बैठकको निर्णयअनुसार आयोजना हुन लागेको प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा भलिबल र एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । भलिबलतर्फ छात्र र छात्रा दुवै समूहमा बढीमा ९ जनाको टोली सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
एथलेटिक्सतर्फ छात्र तथा छात्रा दुवै समूहमा १००, २००, ४००, ८०० र १ हजार ५०० मिटर दौड समावेश गरिएको छ । यस्तै, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिन थ्रो र सटपुटका विधामा पनि प्रतिस्पर्धा हुनेछ ।
फिल्ड इभेन्टतर्फ छात्रका लागि ८०० ग्रामको ज्याभ्लिन र १२ पाउण्डको सटपुट तथा छात्राका लागि ६०० ग्रामको ज्याभ्लिन र ८ पाउण्डको सटपुटको व्यवस्था गरिएको छ । प्रत्येक एथलेटिक्स विधामा छात्र र छात्रातर्फ दुई–दुई जना खेलाडी सहभागी हुन पाउनेछन् ।
यस वर्षको प्रतियोगितामा रानीपौवा माध्यमिक विद्यालय लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यसहित सहभागी हुनेछ । रानीपौवा माविले २०८२ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ३ कांस्य गरी कुल १४ पदक जित्दै प्रथम स्थान हासिल गरेको थियो ।
त्यसअघि २०८१ सालमा पनि ९ स्वर्ण, ८ रजत र ६ कांस्य गरी कुल २३ पदकसहित रानीपौवा मावि प्रथम भएको थियो । २०८० सालको प्रतियोगिताको उपाधि सल्यानटार माध्यमिक विद्यालयले जितेको थियो भने २०७९ सालमा रानीपौवा मावि नै विजेता बनेको थियो ।
लगातार दुई वर्ष उपाधि जितेको रानीपौवा माविका लागि यस वर्षको प्रतियोगिता उपाधिमा ह्याट्रिक गर्ने अवसरका रूपमा रहनेछ ।
