धादिङका पूर्वमन्त्री र सांसदसहितको टोली मन्त्रीलाई भेट्न दुई घण्टा कुरेर फर्कियो

Avatar photo
Dhadingpost
कार्तिक १७, २०८३

धादिङ । धादिङका पूर्वमन्त्री, सांसद तथा जनप्रतिनिधिसहितको टोली पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेट्न दुई घण्टा कुरेर पनि भेट नभएपछि मन्त्रालयबाटै फर्किएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पक्की पुल बगाएपछि नयाँ पुल निर्माणको मागसहित टोली मन्त्रीलाई भेट्न मन्त्रालय पुगेको थियो । तर, निर्धारित समयमा भेट हुन नसकेपछि टोलीले मन्त्रीसँग भेट नगरी फर्किनुपरेको जनाएको छ ।

धादिङबाट विगतमा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, संघीय तथा प्रदेश सांसद र प्रदेशमन्त्रीसहित करिब १५–१६ जनाको टोली बुधबार बिहान मन्त्रालय पुगेको थियो । मन्त्रीले बिहान ११ बजेका लागि भेट्ने समय दिएको भए पनि टोली दुई घण्टासम्म कुरेर फर्किएको हो ।

उक्त टोलीमा सहभागी पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरूलाई दुई घण्टा कुराएर पनि भेट नगराइएको बताएका छन् । पुल निर्माणको माग लिएर जिल्लाका प्रतिनिधिहरू मन्त्रालय पुगेको अवस्थामा भेट हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

पाण्डेका अनुसार मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेसँग अघिल्लो दिन नै भेट गरी बुधबार बिहान ११ देखि १२ बजेसम्म मन्त्रीसँग भेट्ने समय लिइएको थियो ।

‘हिजो सन्तोष पाण्डेसँग मैले भेटेर समय मागेँ। उहाँले आजलाई बिहान ११ बजेदेखि १२ बजेसम्म भेट हुन्छ, मैले समय लिइदिएको छु, आउनुहोस् भन्नुभयो,’ पाण्डेले भने ।

पाण्डेका अनुसार मंगलबार बिहान मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेलाई भेटेपछि मन्त्रीको निजी सचिवालयका प्रतीक श्रेष्ठले पनि भेट गराउने जानकारी दिएका थिए । सोही जानकारीका आधारमा टोली निर्धारित समयमै मन्त्रालय पुगेको थियो ।

तर, मन्त्री प्रधानमन्त्रीकहाँ गएको जानकारी पाएपछि लामो समय पर्खिएर पनि भेट हुन नसकेको टोलीका सदस्यहरूले बताएका छन् ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी जोड्ने सडकको आवागमन प्रभावित हुँदै आएको छ । उक्त स्थानमा नयाँ पक्की पुल निर्माणका लागि स्थानीय तथा जनप्रतिनिधिहरूले माग गर्दै आएका छन् ।

पुल निर्माणको मागसहित जिल्लाका पूर्वमन्त्री, सांसद र जनप्रतिनिधिहरूको टोली नै मन्त्रालय पुगेर भेट गर्न नसकी फर्किनुपरेपछि फुर्केखोला पुल निर्माणको विषय फेरि चर्चामा आएको छ । फाईल तस्वीर