धुनीबेसीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, २१ विद्यालयका ८०० विद्यार्थी सहभागी

Avatar photo
Dhadingpost
कार्तिक १७, २०८३

धादिङ । धादिङको धुनीबेसी नगरपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा सुरु भएको छ । नगरपालिकाभित्रका २१ माध्यमिक विद्यालयका करिब ८०० विद्यार्थी खेलाडी प्रतियोगितामा सहभागी हुने भएका छन् ।

धुनीबेसी नगरपालिकाका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरू तथा सहभागी विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले धुनीबेसी नगरपालिकाले हरेक वर्ष स्थानीय खेलाडीलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने कार्य उदाहरणीय रहेको बताए । जिल्ला स्तरीय प्रतियोगितामा आर्थिक सहयोग तथा खेलाडी सहभागी गराएर नगरपालिकाले खेलकुद विकासमा योगदान पुर्‍याउँदै आएको भन्दै उनले आभार व्यक्त गरे ।

नगरपालिकाका प्रवक्ता रमेशप्रसाद आचार्यका अनुसार नगरपालिकाले खेलकुद र खेलाडीलाई मुख्य योजनामै समेटेर गतिविधि सञ्चालन गर्दै आएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विगतको निरन्तरता मात्रै नभई नयाँ खेलाडी पहिचान गर्ने अवसरका रूपमा रहेको उनले बताए ।

प्रवक्ता आचार्यका अनुसार प्रतियोगितामा ५४ वटा स्वर्ण पदक प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३० हजार रुपैयाँ, द्वितीय हुनेलाई २० हजार रुपैयाँ र सान्त्वना पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

गत वर्ष सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय च्याम्पियन बनेको थियो । महेशधर्म माध्यमिक विद्यालय पुरनडाँडा दोस्रो, मच्छिन्द्र माध्यमिक विद्यालय खानीखोला तेस्रो र कालीदेवी आधारभूत विद्यालय गौचरण चौथो भएका थिए ।