
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा आयोजित छैटौँ कुपा कप फुटबल प्रतियोगिताको उपाधि मेन्दोफोले युवा क्लबले जितेको छ। आइतबार भएको फाइनल खेलमा रातमाटे युवा क्लबलाई २–१ गोलले पराजित गर्दै मेन्दोफोलेले उपाधि जितेको हो ।
उपाधिसँगै मेन्दोफोले युवा क्लबले एक लाख तीन हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता रातमाटे युवा क्लबले ५५ हजार ५५५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका कग्यु मोलम र घोर्मु युवा क्लबले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
छैटौँ कुपा कपअन्तर्गत व्यक्तिगत विधातर्फ मेन्दोफोले युवा क्लबका रसुन तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। त्यस्तै, रातमाटे युवा क्लबका समर श्रेष्ठ उत्कृष्ट गोलरक्षक र मेन्दोफोले युवा क्लबका अनोज तामाङ सर्वाधिक गोलकर्ता घोषित भएका छन्। दुवैले जनही चार हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।
यसैगरी, प्रतियोगिताअन्तर्गत आइतबार नै सम्पन्न १० किलोमिटर मिनी म्याराथनको उपाधि गोरखाका रोमन भट्टले जितेका छन् । उनले निर्धारित दूरी ३४ मिनेट २३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।
ओखलढुङ्गाका पृथ्वी राईले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र कालिकोटका सन्तोषनाथ योगीले ३८ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् । धादिङका प्रकाश सेठ्ठीले ४० मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना स्थान हासिल गरेका छन् ।
मिनी म्याराथनका विजेता भट्टले २४ हजार रुपैयाँ र उपविजेता राईले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
कुपा युवा समाज र कुपा प्रवासी समाजको आयोजनामा सञ्चालन भएको छैटौँ कुपा कपको पुरस्कार वितरण समारोहमा बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । फुटबल प्रतियोगिता र मिनी म्याराथनले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुद गतिविधिलाई प्रोत्साहन गरेको छ ।
गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम





















