
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न निर्वाचन तालिका तथा आचारसंहिता सार्वजनिक गरिएको छ । आगामी असोज ३१ गते (अक्टोबर १७, २०२६) धादिङबेसीमा हुने महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया धादिङबेसीको शीतलबजारस्थित क्रिक रिसोर्टमा रहेको निर्वाचन समिति कार्यालयका साथै अनलाइन माध्यमबाट समेत अघि बढाइनेछ ।
असोज ३० गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने
निर्वाचन कार्यतालिकाअनुसार असोज ३० गते बिहान ७:१५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। नामावलीमाथि बिहान १०:३० बजेसम्म दाबीविरोध गर्न सकिनेछ भने अन्तिम मतदाता नामावली बिहान ११:३० बजे प्रकाशन गरिनेछ ।
सोही दिन दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
असोज ३१ गते दिउँसो १ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ। दिउँसो २ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध गर्न सकिनेछ । दोस्रो नामावली दिउँसो २:३० बजे प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो ३:३० बजे सार्वजनिक गरिने कार्यतालिकामा उल्लेख छ ।
अध्यक्षको उम्मेदवारी शुल्क ७५ हजार रुपैयाँ
नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिन पदअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि ७५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।
निर्धारित शुल्कअनुसार वरिष्ठ उपाध्यक्षका लागि ५० हजार, उपाध्यक्षका लागि ४० हजार, महासचिवका लागि ३० हजार, सचिव र कोषाध्यक्षका लागि २०/२० हजार रुपैयाँ शुल्क लाग्नेछ ।
त्यस्तै, सहकोषाध्यक्ष र युवा संयोजकका लागि १५/१५ हजार तथा सदस्य पदका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।
नयाँ कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष (चार खुला र एक महिला), एक महासचिव, चार सचिव (तीन खुला र एक महिला), एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक युवा संयोजक र ११ सदस्य रहने व्यवस्था गरिएको छ ।
अध्यक्ष बन्न एक कार्यकाल पदाधिकारी भएको हुनुपर्ने
निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन केन्द्रीय समितिको पदाधिकारीका रूपमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्नेछ। वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि केन्द्रीय कार्यसमिति सदस्य वा वर्तमान अथवा पूर्व केन्द्रीय सल्लाहकार भएको योग्यता तोकिएको छ ।
युवा संयोजक पदमा उम्मेदवारी दिन ४० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्यानल बनाएर प्रचार गर्न प्रतिबन्ध
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन समूह वा प्यानल बनाएर प्रचारप्रसार गर्ने तथा मत माग्ने कार्यमा प्रतिबन्ध लगाइएको छ। आचारसंहिता उल्लंघन गरेमा उम्मेदवारी रद्द हुन सक्ने चेतावनीसमेत दिइएको छ ।
अधिवक्ता विश्वराज अधिकारीको संयोजकत्वमा गठित चार सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गराउने जनाएको छ ।
निर्वाचनसम्बन्धी थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट intldhadingsociety.org तथा निर्वाचन समितिको इमेल electionids2026@gmail.com मार्फत सम्पर्क गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनले विदेशमा रहेका धादिङवासीलाई संस्थागत रूपमा जोड्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।






















