
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को अधिवेशनको मतदान सम्पन्न भएको छ । मतदानपछि आज बिहानदेखि मतगणना सुरु हुँदैछ । मतपरिणामले क्षेत्रीय नेतृत्वसँगै आगामी जिल्ला अधिवेशनको शक्ति सन्तुलनबारे पनि एउटा संकेत दिने अपेक्षा गरिएको छ ।
अधिवेशनको पूर्वसन्ध्यामा भीम ढुङ्गाना, रमेश धमला र दिलमान पाख्रिनले संयुक्त रूपमा आफूहरू एक रहेको सन्देश सार्वजनिक गरेपछि धादिङ कांग्रेसको आन्तरिक राजनीतिमा यसको चर्चा बढेको थियो । यसलाई ढुङ्गाना पक्षले रामनाथ अधिकारी समूहको प्रभावलाई चुनौती दिने प्रयासका रूपमा अघि बढाएको देखिन्छ ।
वडा र पालिका तहबाट आफ्नो पक्षका बहुमत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको ढुङ्गाना पक्षको दाबी छ । त्यसकै आधारमा क्षेत्रीय अधिवेशनको परिणामप्रति उक्त समूह उत्साहित देखिएको छ ।
यसपटकको क्षेत्रीय अधिवेशनलाई केवल क्षेत्रीय नेतृत्व चयनको निर्वाचनका रूपमा मात्र हेरिएको छैन । यसको परिणामले आगामी जिल्ला अधिवेशनमा कुन समूहको संगठनात्मक प्रभाव कति छ भन्ने प्रारम्भिक संकेत दिने भएकाले पनि धादिङ कांग्रेसभित्र यसको विशेष चासो छ ।
अधिकारीले आफूले लामो समयदेखि कांग्रेस धादिङको संगठन निर्माणमा भूमिका निर्वाह गरेको र अब नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेको धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् । अर्कोतर्फ, ढुङ्गाना पक्षले वर्तमान नेतृत्वको विकल्पका रूपमा आफूहरूलाई संगठित गर्ने प्रयास गरिरहेको देखिन्छ ।
पाँचपटक जिल्ला सभापति बनेका अधिकारी, अहिले निर्णायक मोडमा
रामनाथ अधिकारीको राजनीतिक इतिहासलाई हेर्दा अहिलेको क्षेत्रीय अधिवेशनको महत्व अझ स्पष्ट हुन्छ । २०५३ सालको नवौँ जिल्ला अधिवेशनमा उनी सभापतिका प्रत्यासी बनेका थिए । त्यस निर्वाचनमा दामन पाख्रिनसँग अधिकारी १४ मतले पराजित भएका थिए । अधिकारीले ७९ र पाख्रिनले ९३ मत पाएका थिए ।
पाख्रिनको २०५४ कात्तिक २६ गते निधन भएपछि बाँकी कार्यकालका लागि अधिकारीलाई नेतृत्वको जिम्मेवारी दिइएको थियो । त्यसपछि २०५७ को दशौँ अधिवेशनमा शिवराज अधिकारीलाई १८ मतले पराजित गर्दै उनी सभापति बने । २०६२ को एघारौँ अधिवेशनमा बासु तिमल्सिना र रमेश धमलालाई पछि पार्दै उनी पुनः सभापति बने ।
२०६७ को बाह्रौँ अधिवेशनमा बासु तिमल्सिनालाई १४ मतले पराजित गर्दै अधिकारी चौथोपटक सभापति बने । २०७२ को तेह्रौँ अधिवेशनमा भने उनी आफैं उम्मेदवार बनेनन् । उनको समूहबाट रमेश धमला जिल्ला सभापतिमा निर्वाचित भएका थिए । धमलाले भीम ढुङ्गानालाई २६ मतले पराजित गरेका थिए ।
२०७८ को १४औँ जिल्ला अधिवेशनमा भने अधिकारी र ढुङ्गाना पुनः आमनेसामने भए। त्यस निर्वाचनमा अधिकारीले १ हजार ८२ मत प्राप्त गर्दा ढुङ्गानाले १ हजार ४६ मत पाएका थिए। अधिकारी ३६ मतको अन्तरले सभापति निर्वाचित भएका थिए ।
यसरी हेर्दा ढुङ्गाना र अधिकारीबीचको प्रतिस्पर्धा नयाँ होइन। पछिल्ला दुई जिल्ला अधिवेशनले पनि यी दुई नेताबीचको शक्ति संघर्षलाई धादिङ कांग्रेसको नेतृत्व राजनीतिमा महत्वपूर्ण बनाएको देखिन्छ।
अब ढुङ्गानाको पालो ?
२०७८ मा जिल्ला सभापतिको निर्वाचनमा अधिकारीसँग पराजित भए पनि भीम ढुङ्गाना धादिङ कांग्रेसको राजनीतिमा प्रभावशाली नेताका रूपमा निरन्तर देखिएका छन् । २०७८ कै जिल्ला अधिवेशनमा महासमिति सदस्यतर्फ क्षेत्र नं. २ बाट दिलमान पाख्रिन, भीम ढुङ्गाना, रमेश धमला र रामनाथ अधिकारीलगायत निर्वाचित भएका थिए ।
यसपटक ढुङ्गानाले रमेश धमला र दिलमान पाख्रिनसँग सहकार्यको सन्देश दिन सकेको अवस्थालाई उनको पक्षमा बनेको नयाँ समीकरणका रूपमा हेरिएको छ । यद्यपि यो समीकरणले प्रतिनिधिहरूको मतदानमा कति प्रभाव पार्छ भन्ने कुरा मतपरिणामपछि मात्र स्पष्ट हुनेछ ।
अर्कोतर्फ, अधिकारीको पक्षका लागि चुनौती केवल क्षेत्रीय निर्वाचनको परिणाम होइन। जिल्ला सभापतिको निर्वाचनमा उम्मेदवार बन्नैका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । विधानको धारा १२ अनुसार जिल्ला सभापति कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
त्यसैले धादिङ–२ बाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको संरचनाले आगामी जिल्ला अधिवेशनको समीकरणमा प्रत्यक्ष अर्थ राख्नेछ ।
क्षेत्रीय मतको परिणामले के देखाउला ?
अहिलेको मुख्य प्रश्न यही हो—वडा र पालिका तहमा बनेको समीकरण क्षेत्रीय प्रतिनिधिको मतदानमा पनि कायम रहन्छ कि रहँदैन?
ढुङ्गाना पक्षले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दाबी गरिरहेको छ । धादिङ कांग्रेसमा कुन समूहले आगामी जिल्ला अधिवेशनका लागि आफ्नो प्रभाव विस्तार गरेको छ भन्ने पनि केही हदसम्म देखाउनेछ।
रामनाथ अधिकारीको तीन दशकभन्दा लामो राजनीतिक यात्रामा यो अधिवेशन अर्को महत्वपूर्ण मोड बनेको छ । पाँचपटक जिल्ला सभापति भइसकेका अधिकारीका लागि आफ्नो समूहको संगठनात्मक प्रभाव कायम राख्नु चुनौतीपूर्ण पक्ष हो भने भीम ढुङ्गानाका लागि पुरानो प्रतिस्पर्धालाई नयाँ समीकरणमा रूपान्तरण गर्ने अवसरका रूपमा यसलाई हेरिएको छ ।
त्यसैले अहिलेको प्रश्न ‘रामनाथ अधिकारीको विरासत सकिन्छ कि सकिँदैन ?’ भन्दा पनि ‘धादिङ कांग्रेसको आगामी नेतृत्वका लागि अहिलेको संगठनात्मक शक्ति सन्तुलन कता सर्दैछ ?’ भन्ने हो।
यसको पहिलो संकेत आज आउने धादिङ–२ को मतपरिणामले दिनेछ ।
