धुनीबेसीका मनिष उप्रेती कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

Avatar photo
Dhadingpost
अशोज १०, २०८३

धादिङ । धुनीबेसी नगरपालिका–६ का मनिष उप्रेती नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उप्रेतीले आफ्नो उम्मेदवारीलाई पारिवारिक राजनीतिक विरासत, दुई दशकको संगठनात्मक अनुभव र युवाको नेतृत्व विकाससँग जोडेर अगाडि सारेका छन् ।

उप्रेतीका अनुसार उनको परिवारको नेपाली कांग्रेससँगको सम्बन्ध पुरानो छ । वि.सं. २००७ सालको लोकतान्त्रिक आन्दोलनमा उनका हजुरबुबा नेपाली कांग्रेसको विचार र आन्दोलनसँग जोडिएर राणा शासनविरुद्धको आन्दोलनमा सहभागी भएको उनले बताएका छन् ।

हजुरबुबाले बोकेको लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारप्रतिको विचारबाट आफू प्रभावित भएको उप्रेतीको भनाइ छ । त्यही पारिवारिक राजनीतिक संस्कारलाई निरन्तरता दिँदै आफू विगत २० वर्षदेखि तरुण दलमा सक्रिय रहेको उनले बताएका छन् ।

यस अवधिमा संगठन निर्माण, सामाजिक सेवा तथा जनताको सुख–दुःखमा साथ दिने काममा आफू निरन्तर जोडिँदै आएको उप्रेतीले बताएका छन् । युवासँग नजिक रहेर काम गर्ने क्रममा युवाको ऊर्जा, क्षमता र नेतृत्वलाई नेपाली कांग्रेसको संगठनमा प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवारीबारे उप्रेतीले राजनीति पद र प्रतिष्ठाका लागि मात्र नभई विचार, सिद्धान्त, संगठन र जनताको सेवाप्रतिको जिम्मेवारी भएको बताएका छन् ।

‘हजुरबुबाले बोकेको लोकतन्त्रको विचारलाई पुस्तान्तरण गर्दै दुई दशकको आफ्नो राजनीतिक अनुभवलाई युवाको आवाज र संगठनको सुदृढीकरणमा प्रयोग गर्ने’ उनको प्रतिबद्धता छ ।

उप्रेतीले आफ्नो राजनीतिक यात्रालाई परिवारको राजनीतिक इतिहास र नेपाली कांग्रेसप्रतिको निरन्तर आस्थासँग जोड्दै आएका छन् । ‘इतिहास मेरो प्रेरणा हो, वर्तमान मेरो जिम्मेवारी हो र भविष्य निर्माण गर्नु मेरो संकल्प हो’ भन्ने धारणा उनले सार्वजनिक गरेका छन् ।